ललिता निवास जग्गा प्रकरण फुस्सा
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया आरोपित दुई जनालाई हिजो पुस २७ गते मंगलबार हाजिरी जमानीमा रिहा गरेको छ । उनीहरुलाई ब्यूरोले पछि आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको छ ।
ब्यूरोका अनुसार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा चलाउन आनकानीगर्दै फाइल फिर्ता गरेपछि लिखत सम्बन्धी कसुरमा पक्राउ गरेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुबेदीलाई आफन्तको जिम्मा लगाएर रिहा गरेको हो । प्रहरीले सुवेदी दम्पत्तीलाई लिखत सम्बन्धी कसुरमा ६ पुसमा पक्राउ गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रतिवादी बनाएर विशेष अदालतमा सुवेदी बिरुद्ध मुद्धा दर्ता गरेको थियो । पछिल्लो दुईवर्षदेखि म्याद सार्दै बसेका उनीहरु आफै अदालतमा हाजिर हुने विशेषको सूचनापछि ब्यूरोले दुबैलाई रिहा गरेको छ ।
ब्यूरोले आफ्नो राय सहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकोमा उसले अनुसन्धान पुरा नभएको भन्दै फाइल फिर्ता गरेको थियो । तत्काल मुद्धा अघि नबढने भएपछि लिखत कसुरमा पक्राउ परेका सुवेदी दम्पती समेतलाई रिहा गरेको दाबी ब्यूरोको छ । यो मुद्दा अब कारवाही नचलाउने गरि फुस्सा भएको चर्चा छ।

























