पुर्व राजा ज्ञानेन्द्रले पृथ्वीनारायण शाहको शालिकमा माल्याणपर्ण गर्ने
काठमाडौं । बडामहाराजधिराज पृथ्वी नारायण शाहको ३०० औं जयन्ती तथा राष्ट्रिय एकता दिवस अर्थात् भोली पुस २७ गते जनस्तरबाट विभिन्न कार्यक्रम गरेर मनाउने तयारीहरू गरिएको छ ।
यस अवसरमा २०६५ सालमा भएको गणतन्त्र घोषणाको १३ वर्षपछि पहिलो पल्ट पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहबाट समेत सिंहदरवारको मूल गेट अगाडि रहेको बडामहाराजधिराज पृथ्वी नारायण शाहको सालिकमा दिनको १२:३० बजे माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।
पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहका संवाद सचिव डा.फणिराज पाठकद्वारा २०७८ पुस २६ गते जारी सूचनामा सो कार्यक्रम रहेको जानकारी दिइएको छ ।
त्यसैगरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा देवप्रकाश त्रिपाठीको नेतृत्वमा रहेको एकीकृत शक्ति नेपालका उपत्यका संयोजक जुलुमरत्न डङ्गोलले पनि विज्ञप्ति जारी गर्दै भोली पौष २७ गते बिहान ७:३० बजे सिंहदरबार पश्चिम ढोकामा उपस्थित भएर राष्ट्र निर्माताको सम्मानमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताइएको छ।
एकीकृत शक्ति नेपालका उपत्यका संयोजक जुलुमरत्न डङ्गोलले विज्ञप्तिमा भनेका छन् ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हामी मौसूफप्रति हार्दिक कृतज्ञता जाहेर गर्दै सम्पूर्ण नेपाली दाज्यूभाई तथा दिदीबहिनीहरूमा शुभकामना ब्यक्त गर्दछौं ।’
‘साम्राज्यबाद विरूद्धको सङ्घर्षका क्रममा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट एकताबद्ध नेपाल निर्माण गर्न भएको वलिदानीपूर्ण योगदानको हामी सदा स्मरण गरिरहने छौँ ।
बर्तमान राज्यसत्ता बडामहाराजाधिराजप्रति पूर्वाग्रही रहेको महसूस हामीले गरेका छौँ । आफ्नै राष्ट्रदाता , परिचयदाताप्रतिको यो हदसम्मको पूर्वाग्रही सोच सायद यो संसारको कुनै मुलुकमा पनि पाइन्न १ एक हजार वर्षसम्म उपेक्षा र अपमानको चपेटामा परेका चङ्गेज खाँजस्ता आततायीलाई समेत मङ्गोलियाले राष्ट्रिय बिभूति घोषणा गरेको परिप्रेक्ष्यमा हाम्रो नेतृत्वलाई पृथ्वीनारायण जस्ता महामनाप्रति आवश्यक सम्मान जाहेर गर्न कसले रोकिरहेछ, हामी सबै नेपालीले खोजिनीति गर्नुपर्ने भएको छ।
हामी पौष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा सार्बजनिक विदा दिन र नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न माग गर्दछौं १ त्यसैगरी काठमाडौको बसन्तपुर र पोखराको पृथ्वी चोक लगायत नेपालका सबै पालिकाहरूमा पृथ्वीनारायण शाहका शालिक निर्माणको पनि हामी माग गर्दछौं ।’
‘कोरोनाका कारण उत्पन्न विषम स्थितिका कारण यसपटक हामीले वृहत् कार्यक्रमको आयोजना गर्न उपयुक्त ठानेनौ। एकीकृत शक्ति नेपालका केन्द्रीय सदस्य तथा पदाधिकारीहरू एबम उपत्यकाको जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू र अन्य इच्छुक देशभक्त राष्ट्रबादी नेपालीहरूलाई पौष २७ गते बिहान ७:३० बजे सिंहदरबार प्रवेशद्वारको अघिल्तिर पृथ्वीनारायण शाहको शालिक परिसरमा उपस्थित भै माल्यार्पण गर्ने कार्यक्रम भएकोले जानकारीका साथ उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछौं ।’


























