नारायणहिटी संग्राहलयबाट बतास कम्पनीलाई हटाएरै छाडछु–मन्त्री आले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् ।
मन्त्री आलेले पुस २२ गते बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन् ।
उनले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफु छलफलमा रहेको समेत बताएका छन । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भएपनि हटाइ छाड्ने दाबी गरेका छन । उनले आजै बिहीवार नारायणहिटीमा अवलोकनका लागि जाने पनि बताएका छन् ।
उनले भने, ‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पुरै वातावरण नै धमिलो हुन्छ ।
त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । नारायणहिटी राजदरवारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरी त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सवालमा हामी छलफलमा छौँ । आज हामी त्यहाँ अवलोकन गर्न जादैछौँ ।
त्यहाँ स्ट्रक्चरहरु जुन निर्माण भएको छ, त्यो पनि हामी हेर्छौ । र त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ त्यो हामी गर्छौ ।’
उनले नारायणहिटी संग्रहायल भित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको पनि बताएका छन । मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिलाई तीन दिनभित्र राय(सुझावसहितको प्रतिवेदन तयार गर्न कार्यादेश तोकिएको बताइएको छ ।






















