अब आधा भरेको ग्यास सिलिन्डर बजारमा

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार
काठमाडौं । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । माग भन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो ।
नेपाल आयल निगमले आज ७.१ किलो ग्यास भएको सिलिन्डरको नयाँ मूल्य तोकेको छ । निगमका अनुसार तराई क्षेत्रबाहेक काठमाडौँ उपत्यका लगायतका अन्य स्थानमा ग्यासको खुद्रा मूल्य प्रति सिलिन्डर ६८७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यस्तै तराई क्षेत्रका लागि प्रति सिलिन्डर ६७७ रुपैयाँ ५० पैसा र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रति सिलिन्डर रु ६७० तोकिएको छ । यस अघि बजारमा १४.२ किलो ग्यास भएको सिलिन्डर बिक्री वितरण हुँदै आएको थियो ।
नाकाबन्दीको समयमा पनि ग्यासको चरम अभाव भएपछि केही समय आधा सिलिन्डर ग्यास प्रयोगमा ल्याइएको थियो ।
सरकारको निर्णयसँगै ग्यास उद्योगीले आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउन थालिसकेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो ।
“सबै जनताको घरमा चुल्हो बलोस् भनेर नै आधा सिलिन्डर ग्यास बजारमा पठाउन लागेका हौँ”, उहाँले भन्नुभयो, “बजारमा पठाइएका आधा सिलिन्डर ग्यास स्थानीय प्रशासनको रोहबरमा बिक्री वितरण हुन्छन् ।” (रासस)