स्तरोन्नतिका लागि मनकामना केबुलकार ४ दिनका लागि बन्द हुने
काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतिका लागि आगामी पुस ४ गते आइतबारदेखि ४ दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको सो कम्पनीले जनाएको छ।
केवुलकारको सेवा यही पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुने बताइएको छ। उक्त अवधिभरि केवलकार बटम स्टेसन र रेस्टुरेन्ट सेवा भने यथावत् सञ्चालनमा रहने छन्।
कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको जनाएको छ। लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। यसका साथै केबलकारको लठ्ठा, ग्रिपलगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने उक्त कम्पनीले जनाइएको छ।
चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ।कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्विललगायत उपकरण भने साबिककै रहनेछ।
यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको हुने बताइएको छ।























