stcnepal long ad
ime life insurance
global ime bank long

कोरोना संक्रमित भेटिएको सुचना लुकाइएपछि टेकु अस्पतालका प्रमुख र चिकित्सकलाई रुष्ट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार

काठमाडौँ । सञ्चार माध्यमहरूबाट बुधबार दिउँसो खबर फैलियो– मुलुकभित्रै तेस्रो व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि । तर अनलाइनहरूमा मुख्य समाचार बनिसक्दासम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र हैन, निर्देशकलाई समेत त्यसबारे पत्तो थिएन ।

जबकि संक्रमित बिरामी त्यही अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । बिरामीमा कोभिड–१९ संक्रमण देखिएको सूचना बाहिरिएलगत्तै त्यसबारे बुझ्न उक्त अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारीलाई सम्पर्क गर्दा उनले अनभिज्ञता जनाए । ‘हामीले उपचार गरिरहेको बिरामी, हामीलाई नै रिपोर्ट आएको छैन,’ उनले भने, ‘यहाँ डाक्टरहरू सबैले मलाई कराइरहेका छन् ।

मैले के जवाफ दिने ?’ लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सम्पर्क गर्दा उनले भने, ‘म पनि विवरण खोज्दै छु, पाएको छैन । आधा घण्टामा कल गर्नुस् न है ।’
दुवैको जवाफबाट स्वास्थ्य मन्त्रालयका विभागहरूबीच अहिलेको विषम परिस्थितिमा पनि राम्रो समन्वय नरहेको प्रस्टै बुझिन्थ्यो

मन्त्रालयका यस्तै कमजोरी बीच स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अपराह्न ४ः१५ बजे पत्रकार सम्मेलन गरी जानकारी दिए– एयर अरेबियाको फ्लाइट नम्बर जी–९५३७ मार्फत यूएईबाट आएका व्यक्तिमा कोभिड–१९ को संक्रमण देखियो । पत्रकार सम्मेलनमा उनले अब सबै संयन्त्र ‘चेन अफ कमान्ड’ का आधारमा चल्ने र त्यसलाई सबैले मान्नुपर्ने पनि बताए । चिकित्सकहरूले भने संक्रमित व्यक्तिबारे मन्त्रालयले १४ घण्टाभन्दा बढी सूचना लुकाएको भन्दै आपत्ति जनाएका छन् । ‘ती व्यक्ति संक्रमित रहेको कुरा हिजो (मंगलबार) राति नै मन्त्रालयलगायतलाई थाहा रहेछ, तर हामी उपचारमा संलग्न चिकित्सकले बुधबार साँझ मात्र सञ्चार माध्यमबाट थाहा पायौं,’ टेकु अस्पतालका डा. राजेश साहले भने, ‘बिरामीको उपचारमा संलग्न चिकित्साकर्मीसँग संक्रमणको स्थिति लुकाउँदा ठूलो दुर्घटना हुन सक्ने अवस्था छ ।’ टेकु अस्पतालका चिकित्साकर्मीले बुधबारै आफ्ना निर्देशक डा. राजभण्डारीलाई भेटेर बिरामीको अवस्थाबारे जानकारी लुकाउने काम भए उपचार प्रक्रिया नै छोड्ने चेतावनी दिएका छन् ।

जवाफमा डा. भण्डारीले आफूलाई पनि ती बिरामी संक्रमित रहेको जानकारी नरहेको चिकित्साकर्मीहरूलाई बताएका थिए । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कुनै व्यक्तिको कोभिड–१९ रिपोर्ट पोजेटिभ आउनेबित्तिकै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी दिनुपर्ने हो ।

त्यसले तुरन्तै हामीलाई सूचित गर्नुपर्ने हो,’ डा. राजभण्डारीले भने । तर जनस्वास्थ्य प्रयोगशालाले कोभिड–१९ देखिएको रिपोर्ट अस्पताललाई नदिई सिधै स्वास्थ्य मन्त्रालयमा पठाउन लगाइँदा यसअघि पनि यस्तै समस्या देखिएको उनले जनाए ।

पहिलो कोरोना संक्रमितबारेको जानकारी पनि हङकङको प्रयोगशालाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आएको २४ घण्टापछि मात्र स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका थिए । आजको कान्तिपुर दैनिकबाट ।

prabhu mahalaxmi
kumari