आजदेखि जुम्लामा राष्ट्रपतिद्धारा एमबिबीएस शुभारम्भ हुँदै
काठमाडौँ । आजदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसको औपचारिक रुपमा शुभारम्भ हुँदैछ । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ ।
एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति भण्डारी जुम्ला पुग्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानका अनुसार राष्ट्रपतिले ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।
राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुगिसकेका छन् ।
बिहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ । त्यसलगत्तै एमबिबीएसलगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुने बताइएको छ ।
सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतलगायत २२ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ । प्रतिष्ठान स्थापनाकालदेखिका पूर्वपदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
एमबिबीएसमा १९, बिपीएचमा आठ, बिएनएसमा १६, बिफार्मामा आठ र बिएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।
पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुर्याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ ।
अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रम लगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबिबीएस, बिएनएस, बिफा र्मालगायतका सङ्कायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।


























