विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भन्यो– कोभिड खोपले ओमिक्रोन विरुद्ध काम गर्छ
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक अधिकारीले कोभिड विरुद्धका खोपले नयाँ भेरिएन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएका छन् ।
दक्षिण अफ्रिकाको प्रयोगशाला गरिएको परीक्षणमा नयाँ भेरिएन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएपछि डब्ल्यूएचओका डा. माइक रायनले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
‘हामीसँग धेरै प्रभावकारी खोपहरू छन् जुन अहिलेसम्म गम्भीर बनाउने र अस्पतालमा भर्ना गराउने सबै प्रकारका भेरिएन्ट विरुद्ध प्रभावकारी सावित भएका छन्। ती खोपको प्रभाव ओमिक्रोनमा कम हुनेछ भनेर चिन्ता लिनुपर्ने कुनै कारण छैन’, डा। रायनले एएफपी समाचार संस्थालाई भन्नुभयो ।
प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसलाई डेल्टा भेरिएन्ट भन्दा बढी बिरामी नपार्ने देखिएको उहाँको भनाइ छ । भर्खरैमात्र दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले फाइजररबायोएनटेक भ्याक्सिन अन्य भेरिएन्टको तुलनामा ओमिक्रोनमा ४० प्रतिशत कम प्रभावकारी भएको देखाएको थियो।
तर, भाइरोलोजिस्ट प्रोफेसर एलेक्स सिगल, जो अनुसन्धानको हिस्सा हुनुहुन्थ्यो, उहाँले भ्याक्सिनद्वारा निर्मित एन्टिबडीबाट ओमिक्रोन जोगिनसक्ने क्षमता ‘अपूर्ण’ रहेको बताउनुभयो । १२ संक्रमितको रगत परीक्षण गर्दा आफूले आशा गरेभन्दा पनि राम्रो नतिजा आएको जानकारी दिनुभएको छ ।
प्रोफेसर सिगलले खोप अझै पनि यो भेरियन्टविरुद्ध प्रभावकारी हुन सक्ने दाबी गर्नुभएको हो । उहाँका अनुसार अध्ययनले कोरोनाको नयाँ भेरिएन्टविरुद्ध बुस्टर (अतिरिक्त भ्याक्सिन) डोज महत्वपूर्ण कदम हुनसक्ने देखिएको छ ।
ओमिक्रोन सबैभन्दा बढी म्युटेड भएको कोरोना भाइरसको नयाँ भेरिएन्ट हो। यो पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो।
यसलाई डेल्टाभन्दा बढी संक्रामक भेरिएन्ट बताइएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२० मा महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्।


























