आर्थिक अजेन्डामा समान दृष्टिकोण बनाउन ढकालको आग्रह
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक अजेन्डामा सबै राजनीतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले आज सोमबार बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थान गर्न सबै राजनीतिक दलहरुको समान धारणा आवश्यक पर्ने बताएका छन्।
‘अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ। यो जुन सुधार देखिएको छ। यसलाई रोकिन दिनुहुन्न। सबै मिलेर यसलाई द्रुत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन। यसका लागि सबै राजनीतिक दलहरुको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ।’ ढकालले भने।
अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरिएन्टको नेपालमा पर्न सक्ने प्रभावबारे बोल्दै ढकालले यसलाई अहिलेसम्मका अध्ययनहरुले कम खतरापूर्ण रहेको उल्लेख गर्दै आएकाले यससँगसँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको उनले बताए।
लुम्बिनी प्रदेश मुलुककै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको भन्दै ढकालले विस्तारै–विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता सहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए।
ढकालले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तव्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत सहकार्य हुने बताए। उनले अगाडि भने(‘हामीले सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्यहरु निर्माण गर्न गइरहेका छौं।
यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ। यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत साझेदारी र सहकार्य हुनेछ’।
कोभिड महामारीले मुलुकमा चुनौतीमात्र नथपेको बताउँदै ढकालले यसले नयाँ–नयाँ अवसरका ढोका पनि खोलेको पनि बताए।
‘कोभिड महामारीले चुनौतीहरुमात्र थपेको छैन, नयाँ अवसरहरुको ढोका पनि खोलेको छ। डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो संकटले हामी सबैलाई बाध्य पारेको छ। ई–कमर्स, ई–कारोबार, सेवा तथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरुको प्रयोग बढेको छ’, उनले भनेका छन।






















