इन्टरपोलबाट रेड नोटिस जारी भएका गोरे समूहका सुन तस्कर अग्रवाल पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका गोरे समूहका सुन तस्कर अग्रवाल पक्राउ
काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस–१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आज आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहभागी भएको इन्टरपोलको महासभामा उनले अग्रवाल सहित अन्य फरार आरोपीका बिषयमा सम्बन्धित देशका सुरक्षा प्रमुखसँग छलफल गरेका थिए । उनी फर्किएको केही दिनमै दुबईबाट अग्रवाललाई नेपाल फिर्ता पठाइएको हो ।
सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरु मध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा गत २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले आज जनाएको छ ।


























