stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

इन्टरनेट खपत दोब्बरले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब दोब्बरले बढेको छ । दूरसञ्चार तथा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर विस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग गतिलो विकल्प बन्दा यसको खपत बढेको पाइएको छ ।

यसबाहेक कोरोना भाइरससँग सम्बन्धित सूचना तथा जानकारीका लागि अनलाइन सजिलो माध्यम भएकाले अन्य दिनमा भन्दा इन्टनरेटको खपत तुलनात्मक रूपमा बढिरहेको छ ।
घरभित्र रहँदाको फुर्सदिलो समयमा खासगरी भिडियो सामग्रीको उपयोग बढ्दा इन्टरनेट खपत बढिरहेको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)का अध्यक्ष भोजराज भट्टले बताउनुभयो । ‘गेमिङ, भिडियो डाउनलोड तथा एकैै परिवारमा धेरैले एकैपटक युट्युब प्रयोग गर्दा इन्टरनेटको ट्राफिक एकदमै बढिरहेको छ, उहाँले भन्नुभयो । विगत केही दिनयता नै नेपालमा इन्टरनेटमा चाप बढिरहेको छ । नियमित किसिमको चहलपहल घट्दै जाँदा इन्टरनेटको खपत भने त्यसै अनुसार बढ्दै गएको आइस्पानले जनाएको छ ।
इन्टरनेटको खपतमा पछिल्ला दिन नियमित वृद्धि भए पनि मङ्गलबार अन्य दिनभन्दा दोब्बर बढी भएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार दिउँसोको इन्टरनेट खपतको प्रवृत्ति हेर्दा अन्य दिनको अधिक खपत हुने समय (पिक आवर)भन्दा दोब्बर बढी पाइएको छ ।

नेपालमा सामान्यतः बेलुका ७ बजेदेखि राति १० बजेसम्मको समयलाई इन्टरनेटको पिक आवर मानिन्छ तर मङ्गलबार दिउँसो १२÷१ बजेतिर नै पिक आवरभन्दा बढी इन्टरनेट ब्यान्डविथ खपत भएको भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहराले जानकारी दिनुभयो । इन्टरनेटको वास्तविक खपतको अवस्था बुझ्न मङ्गलबार चौबीसै घन्टाकै विश्लेषण गर्नुपर्ने भए पनि अन्य दिनमा भन्दा ब्यान्डविथ स्पष्ट रूपमा बढेको पाइएको उहाँले बताउनुभयो ।
इन्टरनेटको प्रयोग अत्यधिक बढ्दै गएपछि आइस्पानले सार्वजनिक सूचना नै जारी गरेर मनोरञ्जनात्मकभन्दा पनि सूचनामूलक सेवाका लागि प्रयोग गर्न आग्रह गरेको छ । ब्यान्डविथ खपत बढ्दा सेवा प्रदायकको नेटवर्कमा अत्यधिक भार बढेकोले अधिक इन्टरनेट खपत हुने सेवा प्रयोग नगर्न आइस्पानले अनुरोध गरेको छ ।

त्यस्तै सेवा प्रदायकले जडान गरेका उपकरण यथास्थानमै राखेर प्रयोग गर्न अन्यथा उपकरणको सेटिङ बिग्रने अवस्था आउन सक्नेतर्फ पनि आइस्पानले सचेत गराएको छ । नेपालले भारतका टाटा, एयरटेलजस्ता क्यारियरमार्फत ब्यान्डविथ खरिद गर्दै आएको छ । यस्तो ब्यान्डविथ केही सेवा प्रदायकले नेपाल भित्रायाएर अन्य सेवा प्रदायकलाई बिक्री गर्दै आएका छन् । नेपाल टेलिकम र वल्र्डलिङ्क नेपालमा इन्टरनेट ब्यान्डविथ भित्रायाउने ठूला सेवाप्रदायक हुन् । नेपालले वार्षिक करिब दुई अर्बको ब्यान्डविथ आयात गर्छ ।
नेपाल दूर सञ्चार प्राधिकरणको मङ्सिरसम्मको तथ्याङ्क अनुसार देशको कुल जनसङ्ख्यामध्ये ७२.४२ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् । अर्थात् नेपालमा दुई करोड १३ लाख ७३ हजारले इन्टरनेट प्रयोग गर्छन् । त्यसमध्ये एक करोड ६४ लाखले मोबाइलबाटै इन्टरनेट प्रयोग गर्छन् । मोबाइलबाट प्रयोग गर्नेमध्ये ४३ लाख ६० हजार फोरजी प्रयोगकर्ता हुन् । बाँकीले थ्रीजी प्रयोग गर्छन् । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकका ग्राहक मात्र ३७ लाख नाघेका छन् । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको तारसहितको एडीएसएल इन्टरनेट करिब १० लाखले प्रयोग गर्छन् ।
आवश्यक मात्र प्रयोग गर्न आग्रह
नियामक प्राधिकरणले कोरोना भाइरसको समस्याले इन्टरनेटको खपत अस्वाभाविक रूपमा वृद्धि हुँदा नेटवर्क ट्राफिक साँघुरो बन्दै गएको जनाएको छ । यसरी ट्राफिक बढ्दा सेवा नै अवरुद्ध हुने जोखिम भएकोले आवश्यकता अनुसार मात्र इन्टरनेटको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । प्राथमिकताका आवश्यक एप्लिकेसन मात्र प्रयोग गरी सहयोग गरिदिनु प्राधिकरणले सार्वजनिक सूचनामा उल्लेख गरेको छ ।  आजको गोरखापत्रबाट

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long