प्रधानसेनापति शर्माद्वारा मध्यकमाण्डको निरीक्षण
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माबाट २०७८ मंसिर १२ गते कास्कीको पोखरास्थित मध्य कमाण्ड हे.क्वा. र मनाङ्गस्थित गुल्मको निरीक्षण भ्रमण सम्पन्न गरिएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भ्रमणको दौरान प्रधानसेनापतिले कमाण्ड हेडक्वाटर,बाहिनी, गण तथा गुल्महरुमा तैनाथी फौजको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको कार्यान्वयन सम्बन्धी प्रगति तथा सामुहिक तालिम संचालनको अवस्था लगायतका विषयहरुमा जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरिएको सेनाले जानकारी दिएको छ ।
भ्रमणको क्रममा प्रधानसेनापति महारथी शर्माबाट गण्डकी प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेट तथा छलफल समेत गरिएको थियो ।
मध्य कमाण्ड अन्तर्गतका हिमाली र उच्च पहाडी ईलाकाहरुमा अवस्थित युनिटहरुको तीन दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधानसेनापति महारथी शर्माले २०७८ मंसिर १३ गते मुस्ताङ्गको जोमसोमस्थित २३ बाहिनी अड्डा र बाग्लुङ्गस्थित गुल्मको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।
यस्तै २०७८ मंसिर १४ गते पाल्पास्थित गणको निरीक्षणका साथै उक्त जिल्लामा अवस्थित शान्ति वाटिका र पाल्पा दरबारस्थित सैनिक संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
प्रधानसेनापति महारथी शर्मा तनहुँस्थित ३ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न गरी सोही दिन काठमाण्डौं फिर्ता हुने योजना रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।






















