राजदुत बन्न सहसचिव बीच प्रतिस्पर्धा
काठमाडौं । विभिन्न देशका लागि २० वटा राजदुत पद खाली छ । त्यहाँ को कसलाई पठाइएला भन्ने चासो छ चर्चा व्यापक छ । यस अघि १२ वटा मुलुकबाट राजदुत फिर्ता बोलाइएसँगै २३ वटा मुलुक राजदुतबिहिन बनेको थियो ।
जसमध्ये भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफरिस भएका छन् । पूर्ववर्ति केपी शर्मा ओली सरकारका पालामा भारतका लागि पुर्व मन्त्री निलाम्बर आचार्य, बेलायतका लागि पुर्व मुख्य सचिव लोकदर्शन रेग्मी र अमेरिकाका लागि पुर्व अर्थ मन्त्री युवराज खतिवडालाई राजदुत बनाएर पठाइएको थियो ।
उनीहरुलाई फिर्ता बोलाएर अर्थशास्त्री डा शंकर शर्मालाई भारत, पुर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई बेलायत र परराष्ट्र मामिला विज्ञ डा.श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त भएका छन् ।
अहिले परराष्ट्र सेवाबाट ब्रसेल्स, न्यूयोर्क, जेनेभा, पेरिस, बैंकक,अबुधावी, ओटवा, बर्लिन, कुवेत सिटीमा राजदूत छन् । रिक्त रहेको स्थानमा समेत कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी राजनीतिक नियुत्तिबाट राजदुत नियुक्त गरिँदै आएको छ ।
तीन देशमा राजदुत नियुक्त भइसकेको छ । बाँकी रहेको २० स्थानमध्ये सात स्थानमा परराष्ट्रका कर्मचारीहरुले दावा गरेका छन् । यदी सोही अनुसार राजदुत नियुक्ति प्रक्रिया अगाडि बढाइएमा परराष्ट्र मन्त्रालयबाट बढीमा सात र कम्तिमा ६ जना राजदूत बन्नेछन् ।
क्यारियर डिप्लोटिकबाट राजदुत बन्ने प्रवल दावेदारहरुका रुपमा सहसचिवहरू कृष्णचन्द्र अर्याल, निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, हरिश्चन्द्र घिमिरे,डोरनाथ अर्याल, तीर्थराज वाग्ले, तेजबहादुर क्षेत्री, घनश्याम भण्डारी, दुर्गाबहादुर सुवेदी, लोकबहादुर थापा, सुशीलकुमार लम्साल, धनबहादुर ओली, प्रकाश सुवेदी र सुधीर कुमार भट्टराई लगायत रहेका छन्।
























