भिसीटिएस प्रणालीमा कडाइ गरिदै

काठमाडौं । मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयनमा सरकारले कडाइ गर्न शुरु गरेको छ । कुनै पनि मुलुकबाट आयात भएका तयारी तथा कच्चा मालवस्तु भन्सार बिन्दुबाट कहाँ–कहाँ पुग्छ भन्ने सबै रेकर्ड ट्रयाक गर्दै प्रणालीबाट कर छली हुन नदिन सरकारले भीसीटीएस प्रणाली कार्यान्वयनमा कडाइ गरेको छ ।
राजश्व अनुसन्धान विभागले भन्सार विभाग र आन्तरिक राजश्व विभाग समेतको सहयोगमा भीसीटीएसमा कडाइ गरेको हो । भीसीटीएसमा कडाइ गरेसँगै सरकार र व्यवसायीबीच मनमुटाव शुरु भएको छ ।
किन ल्याइयो भीसीटीएस प्रणाली ?
सरकारले अघि बढाएको डिजिटल नेपालको अवधारणा अन्तर्गत विभिन्न क्षेत्रलाई समेट्दै लैजाने लक्ष्य अनुरूप भीसीटीएस लागु गरिएको राजश्व अनुसन्धान विभागका अधिकारीहरू बताउँछन्। आर्थिक कारोबारलाई पारदर्शी र विश्वासिलो बनाई आर्थिक सुशासन कायम गर्ने दिशामा यो प्रणाली महत्त्वपूर्ण साबित हुने सरकारको विश्वास रहेको छ।
यसको शुरूवातसँगै राजस्व चुहावटसँग सम्बन्धित सूचना, उजुरीहरूको सत्यता परीक्षण गर्न, छानबिन एवम् अनुसन्धानलाई वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले गर्न सकिने सरकारको तर्क रहेको छ।