साढे ४५ लाख बचत खाता निष्क्रिय

आर्थिक सञ्जाल आइतबार, २ चैत्र २०७६
काठमाडौं । नेपाल बंगलादेश बैंकमा पर्सा वीरगञ्जका अजय न्यौपाने, काठमाडौं गौशालाकी पूजा रुपाखेती, नुवाकोट विदुरका पूर्णबहादुर गुरुङले खोलेको खाता १० वर्षभन्दा बढी समयदेखि यता कारोबार भएको छैन । यस बैंकले उनीहरूजस्तै १ दशकभन्दा बढीसम्म खाता सञ्चालनमा नआएका २१ हजार ४ सय ९९ खातालाई निष्क्रिय भनेर सार्वजनिक गरेको छ ।
यो एउटा बैंकको उदाहरण मात्र हो । समग्रमा बैंक तथा वित्तीय संस्थामा खोलिएका कुल २ करोड ६० लाख बचत खातामध्ये ४५ लाख ५१ हजार ५ सय ९६ ओटा खाता हाल सञ्चालनमा छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कुल खाताको १७ दशमलव ४८ प्रतिशत बचत खाता निष्क्रिय छन् ।
यदि कुनै ग्राहकको बैंक खाता २ दशकसम्म पनि कारोबार नगरी निष्क्रिय छ भने त्यस्तो बेवारिसे खाताको रकम सरकारले विकास खर्चमा प्रयोग गर्ने तयारी गरिरहेको छ । निष्क्रिय खातामा भएको जति रकम छ त्यो सबै सरकारीकरण गरिने प्रावधान बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) तेस्रो संशोधनका लागि बनेको विधेयकमा राखिएको छ ।
२० औं वर्षदेखि निष्क्रिय रहेको कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खातामा न्यूनतमभन्दा बढी छ भने झिक्दा राम्रो हुनेछ । २० वर्षसम्म पनि निक्षेपकर्ताले पैसा झिकेनन् भने खातामा भएको रकम निकाल्न झन्झट हुनसक्छ । यस्तो रकम निकाल्न निक्षेपकर्ताले आफ्नो हो भनेर पुष्टि गर्न पर्याप्त प्रमाण जुटाउन सक्नुपर्ने छ ।
आजको आर्थिक अभियान दैनिकबाट