citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘इन्द्रजात्रा’ पुस्तक व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई प्रदान

हाम्रा सम्पदाको संरक्षण र प्रवर्धनका लागि हामी आफैँसँग पैसा छ, कसैसँग माग्नु पर्दैन –मेयर शाक्य

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई आज ‘इन्द्रजात्रा’ पुस्तक वितरण गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तक प्रदान गर्नुभएको हो ।

डा. अजय क्रान्ति शाक्य र सुरेश किरण मानन्धरको लेखन र सन्ध्या बज्राचार्यको सहलेखन रहेको यो पुस्तक सहरी योजना आयोगले प्रकाशनमा ल्याएको हो । ०७७ भदौमा १ हजार प्रति छापेर पुस्तकको पहिलो संस्करण तयार पारिएको थियो ।

यसलाई ०७७ मंसिर २९ गते २६ औँ महानगर दिवसको सन्दर्भ पारेर पहिलो पटक सार्वजनिक गरिएको थियो ।

पुस्तकमा जात्रा सञ्चालन हुने रुट लगायतका विषयमा रजिता शाक्य उदासका नक्साहरु र जात्राका सामाजिक, सांस्कृतिक पक्षमा स्व. एकाराम सिंहले कोर्नुभएका चित्र राखिएका छन् ।

पुस्तक वितरण गर्दै महानगरका प्रमुख शाक्यले, इन्द्रजात्राको व्यापकताका विषयमा कुरा गर्दै, राष्ट्रिय पर्वका रुपमा मनाइने जात्रालाई नेवार समुदायले सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

जात्राको गरिमालाई अन्तरराष्ट्रियकरण गर्न महानगरले प्रयास गरिरहेको छ । शाक्यले भन्नुभयो, ‘०७६ सालमा महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुख र प्रतिनिधिलाई बोलाएर जात्राको अवलोकन गराएको थियो । त्यहाँ उहाँहरुले जात्राका प्रत्यक्ष क्रियाकलापमा आफूलाई सहभागी गराउनुभयो ।

त्यहाँका चालचलन श्पर्श गर्नुभो । महसुस गर्नु भो । अनेकथरी गतिविधि आफ्नै सुरमा एकतमासले चलिरहेको देख्नुभो । सामाजिक सद्भावका दृष्टिले यो उहाँहरुका लागि उदाहरण बन्यो ।’
जात्राको गरिमा उहाँहरुले आफ्नो परिवेशमा सुनाएका खवर आफूले प्राप्त गरिरहेको बताउँदै उहाँले, महामारीको अवस्था हेरेर अनुकुल भए यस बर्ष पनि भगिनी सहरका प्रमुख र प्रतिनिधिहरुलाई बोलाउने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा मेयर शाक्यले, काठमाडौँका सबै वडाका जात्रा र पर्व सञ्चालन गर्न महानगरले आफ्नो दायित्वमा पर्ने काम गरेको उल्लेख गर्दै, मूर्त अमूर्त सम्पदा जोगाएर पर्यटन व्यवस्थापनसँग अन्तरसम्बन्धित बनाउने योजना कार्यान्वयनमा गुठीयारहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्यस क्रममा पुस्तकका लेखक तथा प्रदेश सभा सदस्य डा. अजय क्रान्ति शाक्यले, इन्द्रजात्रासँग सम्बन्धि व्यक्ति तथा सरोकारवालाहरुको भनाइलाई पहिलो तथ्य र शिलालेख, आलेख, ग्रन्थ तथा प्रकाशनहरुलाई दोस्रो तथ्यका रुपमा लिएर अनुसन्धानका प्रक्रियाबाट पुस्तक तयार पारिएको उल्लेख गर्नुभयो ।

हामीले इन्द्रजात्रालाई ३ सय बर्ष अघिको मान्दै आएका छौँ । तर, अनुसन्धानले यो पर्व वैदिक कालदेखि चल्दै आएको देखाउँछ । सिन्धुघाँटीको सभ्यतासँग यसका चालचलन मिल्दाजुल्दा छन् । डा. शाक्यले यसको ऐतिहासिकताका विषयमा थप्दै भन्नुभयो, ‘यसलाई काठमाडौँमा मनाइने भएकोले काठमाडौँसँग जोडेर बुझ्ने गरिन्छ । तर यो काठमाडौँभन्दा धेरै इन्द्रसँग सम्बन्धित पर्व हो ।

शुरुवात्देखि अहिलेसम्म इन्द्रध्वज उत्थानलाई मुल क्रियाकलाप मानेर विभिन्न सांस्कृतिक र सामाजिक पक्ष थपिँदै गएका हुन् ।’ उहाँकाअनुसार कुमारीको रथ तान्ने, विभिन्न तान्त्रिक नाचहरु देखाउने चलन करीव ३ सय बर्षदेखि चलेका हुन् भने जात्रालाई त्यस अघि नै मनाउने गरिन्थ्यो ।

महानगरले सांस्कृतिक चालचलन र सम्पदा बचाउन गरेका प्रयासका बारेमा चर्चा गर्दै उहाँले अनुसन्धानमा आधारित पुस्तक प्रकाशन गरेर सम्पदाको तथ्यगत अभिलेखीकरणको प्रशंशा गर्नुभयो ।

त्यस क्रममा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले, इन्द्रजात्राको प्राचीनताका विषयमा यस अघि हुने गरेका अड्कललाई पुस्तकले यथार्थ सूचना दिने विश्वाश व्यक्त गर्नुभयो । पर्वसँग सम्बन्धित चालचलनलाई व्यवस्थित गर्न तथा त्यसलाई सुधार गर्न पुस्तकले सहयोग गर्ने उहाँको भनाइ थियो ।

पुस्तकको परिचय खण्डमा मौलिक जात्राका रुपमा काठमाडौँ मनाइने जात्रा र काठमाडौँ बाहिर भक्तपुर, ललितपुर, दोलखा, प्यांगा र विदेशमा मनाइने इन्द्रजात्राका विषयमा चर्चा गरिएको छ ।
इन्द्रजात्राको इतिहासका विषय उल्लेख गर्दै पुस्तकमा पूर्व वैदिक काल, वैदिक काल, पौराणिक काल, किराँत काल, लिच्छवीकाल, मल्ल काल, शाह काल र अहिलेको अभ्यासका विषयमा चर्चा गरिएको छ ।

इन्द्रजात्राका सांस्कृतिक पक्षहरु यःसिं थने, उपाकु बने, कुमारी, गणेश र भैरव छनौट तथा जात्रामा उहाँहरुको रथ यात्रा, हाथु हायेके, दागिं, इन्द्रद्य ब्वये, ग्वरा लगायत परम्पराका विषय समेटिएका छन् । जात्रासँग सम्बन्धित नाचहरुमा दीप्याखँ, लाखे, पुलुकिसी, सबःद्य, महाकाली प्याखँ, दश अवतार लगायतका विषयमा चर्चा गरिएको छ । यसै गरी लोप भएका दबू प्याखँ र खः प्याखंका विषयमा पनि चर्चा गरिएको छ ।

इन्द्रजात्रासँग सम्बन्धित गुठीयारहरु, यससँग राजनीतिक, सांस्कृतिक, सामाजिक सम्बन्ध, महानगरपालिका र जात्राको सम्बन्ध तथा यसलाई पर्यटन प्रवर्धनसँग जोड्न महानगरले गरेका प्रयास पनि पुस्तकमा समेटिएको छ ।

पर्वसँग सम्बन्धित चित्र, पर्व मनाउँदा फोटो पत्रकारहरुले खिचेका तस्विर र उपाकु मार्ग, क्वः नेयाः मार्ग, थः नेयाः मार्ग, दागिं र वौमत जाने मार्गको नक्सा राखिएको छ । पुस्तकले इन्द्रजात्रासँग सम्बन्धित तथ्यलाई अभिलेखीकरण र एकीकृत गर्ने प्रयास गरेको देखिन्छ ।

आजको पुस्तक वितरण कार्यक्रममा प्रदेश सभा सदस्य राजेश शाक्य, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनाल, शार्दुलजङ्ग गुल्मका गुल्मपति असीम श्रेष्ठसहित व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता थियो ।

 

himalayan life insurance
igi long