प्रधानसेनापति थापाद्वारा कालु पाँडे समाधिस्थलको उदघाटन
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले एक महिने घर विदा बस्नुअघि आज साउन २४ गते काजी कालु पाँडे समाधिस्थलको उदघाटन गरेका छन् ।
प्रधानसेनापति थापाले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं –१ को दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको उदघाटन गरेका छन् । सो अवसरमा काजी कालु पाँडे–काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्व रथी पवनबहादुर पाँडे, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीलगायतको सहभागिता रहेको थियो ।
नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमअनुसार गढीकिल्लाको सम्भार, संरक्षण तथा प्रवद्वधन गर्ने नीतिअनुरूप चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको निर्माण तथा स्तरोन्नति कार्य गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल भदौं २५ गते सकिदैछ। उनले कार्यकाल सकिनु एक महिनाअघि सेना भित्रको प्रचलन अनुसार एक महिने घर विदा बसेर वरिष्ठतम् रथीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सुम्पिने प्रचलन छ।
त्यसैले प्रधानसेनापति थापा भोली साउन २५ गतेबाट एक महिने घर विदामा बस्दैछन। कामु प्रधानसेनापतिको जिम्मेवारी रथी प्रभुराम शर्मा पौडेलले सम्हाल्दै छन।
उनी भदौं २५ गतेदेखि नेपाली सेनाको ४४ ओैं प्रधानसेनापति तथा महारथी हुदैछन। नेपाली सेनाको करिव २८० वर्षको इतिहासमा पहिलो पटक बाहुन सम्प्रदायबाट शर्मा प्रधानसेनापति हुदैछन।