Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

पहिरो खस्ने क्रममा नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

civilbank long ad

काठमाडौ ।  हिजो बेलुकी पख पहिरो पन्छाएर सडक खुलाइए पनि नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । काठमाडौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्ड झन्डै एक हप्तायता पहिरोले लगातार अवरुद्ध हुँदै आएको छ ।

वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुनेक्रम चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढेको हो ।

यो सडक खण्डमा अझै केही दिनसम्म यस्तै समस्या रहिरहने प्राविधिकहरुको अनुमान छ । यो सडक खण्डमा पर्ने चितवनको सेतीदोभान, इच्छाकामनाको चारकिलो, पाँचकिलो, १४ किलोलगायतका ठाउँमा पहिरो खस्ने गरेको छ । अरु ठाउँमा पहिरो पन्छाए पनि सेतीदोभानमा भने सडक खुलाउन निकै कठिन भएको छ ।

सडकमा लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले भन्नुभयो, ‘सेतीदोभानमा अवरुद्ध सडक खुलाइए पनि, फेरि हिजो बेलुका सात बजेयता पहिरोले सडक बन्द छ, अहिले पनि खुलाउने प्रयास भइरहेको छ ।’ सडक खुल्दै बन्द हुनेक्रम नरोकिँदा सयौँ गाडी बीच बाटोमै अलपत्र परेका उहाँले बताउनुभयो ।

यो सडक हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् । नारायणगढ–मुग्लिङ सडक खण्ड सहित अहिले देशभरका १३ वटा राजमार्ग तथा सडकमार्ग बन्द छन् । यी सडकमार्ग पनि खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।


२३ असार २०७८, बुधवार ०७:२४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad