Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

चीनमा भन्दा नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या धेरै

civilbank long ad

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ । थप एक सय ४५ सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चीनमा ज्यान गुमाएकाको भन्दा धेरै हो ।

कोरोनाको तथ्याङ्कसम्बन्धी विवरण अद्यावधिक गर्दै आएको वर्ल्डोमटिरका अनुसार चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म चार हजार आठ सय ४६ जनाको ज्यान गएको हो ।

प्रति एक लाखमा मृत्यु दर हेर्दा पनि चीनमा शून्य दशमलव तीन को ज्यान गएको छ भने नेपालमा प्रति एक लाखमा १४ दशमलव नौ को ज्यान गएको छ, यो अहिले एसियामै सर्वाधिकमा पर्छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर भित्रिएसँगै नेपालमा सङ्क्रमित थपिने र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीव्र भइरहेको छ । विशेष गरी घना बस्ती भएका सहर, बजार कोरोना सङ्क्रमणको हटस्पट बनेका छन् । जहाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण २०२० को जनवरीदेखि विभिन्न देशमा फैलिन थालेको थियो ।

नेपालमा अहिले कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिँदा चीनमा भने नियन्त्रणतर्फ गइरहेको छ । चीनमा सङ्क्रमणको अनुगमनदेखि कन्ट्याक्ट ट्रेसिङ, परीक्षणलगायतका कामलाई तीव्रता दिइँदा नेपाल भने त्यसमा चुकेको विज्ञहरु बताउँछन् ।

चीनमा सङ्क्रमण रोक्न कडा प्रतिबन्धदेखि रातारात कोभिडकै लागि अस्पताल बनाइएको थियो । नेपालमा भने आर्थिक अवस्थालाई भन्दा व्यवस्थापकीय कमजोरीका कारण सङ्क्रमण नियन्त्रणमा कठिनाइ भएको विज्ञले बताउँदै आएका छन् ।


२ जेठ २०७८, आइतवार २०:०५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad