Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

कोविडको महामारीमा सघाउन ल्हासा नगरबाट काठमाडौँ महानगरलाई ४ वटा भेन्टिलेटर सहयोग

civilbank long ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिव्वतको ल्हासा नगरले भीजी ७० मोडेलका ४ थान भेन्टिलेटर सहयोग स्वरुप पठाएको छ । ती सामाग्रीहरु बैशाख ३१ गते महानगरमा आइपुगेका हुन् ।

गत बैशाख २७ गते ल्हासाबाट सडक मार्ग हुँदै पठाइएका सामान ३० गते तातोपानी भन्सारमा पुगेका थिए । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल र लाञ्जाउका लागि काठमाडौँ महानगरका अवैतनिक महावाणिज्यदूत किशोर बस्नेतले भन्सारबाट सामान बुझेर ३० गते राती महानगरसम्म ल्याउनुभएको थियो ।

बैशाख ३१ गते उहाँहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई सामाग्री बुझाउनु भएको थियो । प्राप्त सामाग्रीहरुमा ‘हामी हिमाल र नदीले जोडिएका छौँ । हाम्रो मित्रता सधैँ रहिरहनेछ ।’ र ‘ल्हासा र काठमाडौँको मित्रता दिगो रही रहन्छ ।’ लेखिएको छ ।

‘ल्हासा र काठमाडौँको आत्मीय भगिनी सम्बन्ध छ । गएको बर्ष पनि ल्हासाले काठमाडौँलाई कोविड परीक्षणका लागि न्युक्लेइक एसिड एट्राक्सन मेसिन, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट, भिटीएम, आरडीटी र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) लगायत सामाग्री र उपकरण सहयोग गरेको थियो ।

त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर मेसिन पनि प्राप्त भएका छन् ।’ भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो, ‘काठमाडौँका नागरिकका तर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौँ ।’ ज्ञवालीकाअनुसार प्राप्त सामाग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ ।

‘संघीय नेपालको राजधानी सहर भएकोले अन्य ठाउँको तुलनामा काठमाडौँमा कोविडको जोखिम धेरै छ । यसबेला काठमाडौँलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो ।’ सामान लिएर आउनुभएका तातोपानी गाउँपालिकाका प्रमुख पौडेलले भन्नुभयो, ‘दुःखमा साथ दिन पाइयो । तातोपानीबाट सामान बुझेर काठमाडौँसम्म ल्याउनुलाई मैले जिम्मेवारी ठानेको छु ।’

महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेका अनुसार भगिनी सम्बन्ध भएका चीनका लाञ्जाउ, छेन्दु, नान्जिन लगायत नगरहरुले पनि सहयोगको इच्छा व्यक्त गरेका छन् ।

आदान–प्रदानका लागि भएका पत्राचारका आपसी विषयहरुलाई निर्णय प्रक्रियामा लगिने छन् । काफ्लेका अनुसार जापानको मात्सुमोतो, कोरियाको सियोल महानगर लगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेट लगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्ने सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन् ।

तर हवइ यातायात सञ्चालन नभएका कारण सामान ल्याउन कठिन हुने भएको छ । अवैतनिक महावाणिज्यदूत वस्नेतका अनुसार ल्हासाबाट पठाइएका भेन्टिलेटरको मूल्य ८ लाख आरएमबि (करिव १ करोड ५० लाख रुपैयाँ) हो । म आपसी सम्बन्धका क्षेत्रमा काम गर्ने भएकोले अब अक्सिजन र यससँग सम्बन्धित उपकरणका लागि पहल गर्नेछु ।


१ जेठ २०७८, शनिवार २०:३४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad