काठमाडौं उपत्यकामा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा लागु गर्ने भएको छ । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागु गरिने भएको हो ।
सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ। निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।
यता आइतबार नै सीसीएमसीको बैठकले सम्पूर्ण विद्यालय तथा शिक्षालय बन्द गर्ने र परीक्षा स्थगित गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यसअघि सीसीएमसीले गाउँको हकमा २ सय जना र सहरको हकमा ५०० भन्दा बढी संक्रमित भइसकेपछि निषेधाज्ञा लागू गर्नका लागि स्थानीय प्रकाशनलाई अख्तियारी दिइसकेको छ ।
सरकारले यसअघि नै बिहान ८ बजे र बेलुका ८ बजेपछि व्यवसाय सञ्चालन नगर्न आग्रह गरिसकेको छ । गत वर्ष पनि काठमाडौं उपत्यकाका तीन सीडीओले निषेधाज्ञा गरेका थिए । यो वर्ष पनि निषेधाज्ञा भएको छ । अब १६ गतेदेखि सार्वजनिक गाडी पनि सञ्चालन गर्न पाइने छैन ।
निषेधाज्ञामा औषधि खाद्य वस्तु तथा अन्य अत्यावश्यक उपभाग्य वस्तु खरिद बाहेक बाहिर निस्कन पाइने छैन । निषेधाज्ञामा उपभोग्य वाहेकका सवारी गुडाउन पाइने छैन । निजी , सार्वजनिक र अनुमति बिनाका सरकारी गाडी गुडाउन, मेला महोत्सव गर्न पनि पाइने छैन ।
यस्तै, निषेधाज्ञा भएपनि दैनिक उपभोग्य वस्तुको बिक्री तथा ढुवानी, सुरक्षा निकायका गाडी र सुरक्षाकर्मी हिँडडुल, फोहोरमैला संकलनार्थ सवारी सञ्चालन, औषधि खरिद बिक्री ढुवानी र दीर्घरोगीलाई अस्पताल जान भने रोक लगाइने छैन ।
निषेधाज्ञामा औषधि खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दुध, विद्युत दुरसञ्चार, मृत्यु संस्कार सम्बन्धि सवारी सञ्चालन गर्न पाइने छ ।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौंलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो।























