भिजिट भिसामा कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गर्ने पक्राउ
काठमाडौं । पछिल्लो समय भिजिट भिसामा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने क्रम बढेको छ । भिजिट भिसामा कम्बोडिया पठाएर क्यासिनोमा काम लगाइदिने भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले मकवानपुर भवानचुलीका आयुष मोक्तानलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनले क्यासिनोमा बोस गार्डको काम दिलाइ दिन्छु भन्दै प्रलोभनमा पारेका हुन् । उनी काभ्रेपलान्चोक पाँचखालका प्रमेबहादुर तामाङ सहित ६ जनालाई भिजिट भिसामा कम्बोडिया जान प्रति व्यक्ति साढे ६ लाख लाग्छ भनेर सबैबाट ३९ लाख रकम असुलेर फरार रहेका थिए ।
आयुष मोक्तानलाई गएको शुक्रबार पक्राउ गरी थप अनुसन्धानको लागि हिजो वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।























