काठमाडौंका थप दुई स्थानमा वाटर एटीएम, सिक्का खसालेर आफूलाई चाहिने पानी किन्न सकिने
काठमाडौं । काठमाडौंका थप दुई स्थानमा वाटर एटीएम सञ्चालनमा ल्याईएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० को बानेश्वरस्थित छक्कुपक्कु पार्क र वडा नम्बर ४ को शंखरपार्कमा वाटर एटीएम सञ्चालनमा ल्याईएको हो ।
महानगरले यसअघि नै गत माघमा शंखघर पार्क (रत्नपार्क), स्वयम्भु र बालाजु उद्यान गरी तीन स्थानमा वाटर एटीएम सञ्चालनमा ल्याईसकेको छ । यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ ।
वटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए । घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक एक अङ्खोरा पानी राखिदिने गर्थे । त्यो पानी पिएर वटुवा प्यास मेटाउँथे ।
यस्ता स्थानहरु क्रमशः हराउन थालेपछि महानगरले ०७६ चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन ९वाटर एटीएम० राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो ।
बटुवालाई चाहिएको ठाउँ र चाहिएको मात्रामा स्वच्छ पिउने पानी उपलव्ध गराउनु एटीएम स्थापनाको उद्देश्य रहेको महानगर प्रखुम विद्यासुन्दर शाक्य बताउँछन् ।
‘अहिले उपभोक्तालाई नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नु पर्ने बाध्यता छ । एटीएम जडानपछि उपभोक्ताको यो बाध्यता अन्त्य हुनेछ । मेसिनमा सिक्का खसालेर आफूलाई चाहिने जति मात्र पानी किन्न सकिन्छ’ उनले भने ।
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पानीको समस्या समाधान हुनुलाई ठूलो उपलब्धी मान्नुपर्ने उल्लेख गरिन । हेर्दा, सुन्दा सामान्य जस्तो लागे पनि वाटर एटीएम सुविधा सहरी जीवनका लागि ठूलो हो । प्रविधिको प्रयोगबाट शुद्धिकरण गरिएको पानी सस्तो मूल्यमा प्राप्त गर्ने वातावरण बनेको छ, उपप्रमुखको भनाइ थियो ।
खानेपानीको उपलब्धता मान्छेको अत्यावश्यक सेवासँग गाँसिएकोले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको वडा १० का अध्यक्ष रामकुमार के। सी। र वडा ४ का अध्यक्ष मोहनबहादुर विष्टको भनाइ छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करीब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करीब २ करोड रुपैयाँ खर्च हुनेछ ।
अहिलेको प्रणालीभित्रै १ हजार ५ सय लिटरको र त्यससँगै छेउमा ५ हजार लिटरको ट्याङकी राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ ।
महानगरसँगको सम्झौताबमोजिम विभिन्न ठाउँमा जडान गरिएका वाटर एटीम स्थापना गरेर आउँदो ३ बर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ । महानगरपालिकाले एटीम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराएको छ ।
कसरी चलाउने वाटर एटिएम
वाटर एटिएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा शुरुवात्मा तिरेको २ रुपैयाँमा एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ ।
त्यसपछिका हरेक २०० मिलिलिटरको पानीको मुल्य १ रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा १ लिटर पानी भर्न सकिन्छ ।





















