राष्ट्रिय सभा गृहसँग जोडिएको सिटी मार्केटका ११२ पसलमा सिलबन्दी
काठमाडौं । राष्ट्रिय सभा गृहसँग जोडिएको सिटी मार्केटका एक सय १२ वटा पसललाई काठमाडौं महानगरपालिकाले बिहीवार सिलबन्दी गरेको छ । लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका पसलमा बिहीवार सिलबन्दी गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
पटक–पटक सूचना प्रकाशित गर्दा पनि पसल नछाडेपछि बिहीवार सिलबन्दी गरिएको ज्ञवालीको भनाइ छ । अब सिटी मार्केटलाई भत्काएर सभा गृहकै रूपमा व्यवस्थित गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
नगरप्रहरी प्रमुख धनपति सापकोटाले पनि पसलेहरूलाई पटक–पटक सूचना दिँदा पनि नहटाएपछि बिहीवार प्रहरी र नगर प्रहरीले सिलबन्दी गरेको जानकारी दिनुभयो ।
पसल सिलबन्दी गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरूलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई पक्राउ गरेको थियो ।





















