कुहिने फोहोर घरभित्रै व्यवस्थापन गरौँ – काठमाडौं महानगरपालिका
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । नकुहिने फोहोरलाई भने सङ्कलन गर्ने गाडी आएपछि मात्र पठाउन महानगरपालिकाले आग्रह गरेको छ ।
फोहोर व्यवस्थापन गर्ने क्षेत्र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै महानगरपालिकाले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको हो ।
महानगरपालिकाले सोमवार विज्ञप्ति निकालेर ल्याण्डफिल्ड साइटका स्थानीय बासिन्दालाई पनि फोहोरको व्यवस्थापनका लागि सहयोग गरिदिन आग्रह गरिएको छ । स्थानीय बासिन्दाले विभिन्न माग राखेर गएको १३ गतेदेखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।
उनीहरुले स्वास्थ्य सुरक्षा लगायतका माग राखेका छन् । ल्याण्डफिल्ड साइटमा फोहोर लैजान सक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न महानगरपालिकाले अनुरोध गरेको हो ।


























