बैंकिङ कसुरका नयाँ प्रवृत्तिले चुनौती थप्यो : गभर्नर अधिकारी
काठमाडौं । बढ्दो सूचना प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रमा देखिएका नयाँ प्रवृत्तिले चुनौती पनि थपेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । कतिपय चुनौती कानुनले पनि नसमेटेकाले नियन्त्रणमा समस्या भएको अधिकारीको भनाइ छ । केन्द्रीय बैंकले आयोजना गरेको बैंकिङ कसुर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अधिकारीले बैंकिङ कसुर र सजाय सम्बन्धी कानुन जारी भएपश्चात् बैंकिङ कसुर जन्य क्रियाकलापको नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताए । त्यसका निम्ति विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा उनले राखे । ‘सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँ–नयाँ प्रवृत्ति देखिन थालेका छन् ।
तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन । त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ’ उनले भने । कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्नेमा उनको जोड छ । महान्यायाधिवक्ता बडालले भने, ‘विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।’
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीन वटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने धारणा राखे । हुन्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम उत्पन्न गरेको उनको भनाई छ ।
सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता क्षेत्रीले औंल्याए । कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले बैंक ‘सुपरिवेक्षकको रूपमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।























