विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको पाइएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार यो हप्तामा मात्र विश्वका १० वटा देशमा नयाँ भाइरस पुगेको हो । संगठनका अनुसार महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशहरुमा पुगिरहेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ ।
यता , बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको छ । विश्व स्थास्थ्य संगठनले दिएको जानकारी अनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो । तर, यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन ।
गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप करिब ४७ लाख संक्रमितहरु थपिएका छन् । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ, ‘आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइसकिने छ ।’ रासस/एएफपी


























