stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

चक्रपथको सडक विस्तार : यसरी बन्दैछ भव्य

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं । चक्रपथको कलंकीदेखि धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडक विस्तारका लागि आगामी महिना सम्ममा ‘साइट’ खाली गराइने भएको छ । यस खण्डमा अहिले सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ । सडक विस्तारका लागि झण्डै २ हजार १०० रुख कटान भइसकेका छन् । यतिबेला बाफलमा रहेको सेनाको ब्यारेकको पर्खाल सार्ने काम भइरहेको छ ।

ब्यारेकभित्र रहेका रुख काटिने काठमाडौँ चक्रपथ सुधार योजनाले जानकारी दिएको छ । यहाँ रहेका बिजुलीका पोल र खानेपानीका पाइप सार्ने काम अघि बढिरहेको आयोजनाका प्रमुख अमृतमणि रिमालले बताए । खानेपानीका पाइप सार्नका लागि ठेक्का सम्झौता भइसकेको उनले बताए ।

उनले भने, “पाइप सार्नकै लागि हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई २५ करोड विनियोजन गरिसकेका छौँ ।” सडकको अधिकार क्षेत्रमा नै स्वयम्भु नजिकै चैत्य पनि रहेकामा त्यसलाई समेत सार्नुपर्ने देखिएको प्रमुख रिमालले बताए । सडकको केन्द्रबाट ३१ मिटर दायाँबायाँ अधिकार क्षेत्र रहेकामा सो चैत्य १७.५ मिटर भित्र पर्छ ।

चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडकखण्डमा भन्दा यो सडकमा संरचना कम रहेका छन् । महाराजगञ्ज क्षेत्रमा मात्रै झण्डै ४० घर सडकको अधिकार क्षेत्रमा रहेका प्रमुख रिमालले बताए । त्यस क्षेत्रमा जग्गा अधिग्रहण अघि बढाउन मन्त्रिपरिषद्ले काठमाडौं उयपत्यका विकास प्राधिकरणलाई जिम्मेवारी दिइसकेको छ । उनले भने, “यस ठाउँमा बाहेक निजी घरको समस्या कम छ ।”

कोटेश्वर–कलंकी सडक विस्तार गरेको चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रुपमा कलंकीबाट महाराजगञ्जसम्मको सडक विस्तार गर्ने भएको छ । चीन सरकारले नै यस सडकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । पहिले साइट खाली गराएपछि नै चिनियाँ टोलीले काम सुरु गर्ने सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख अर्जुनजंग थापाले कोटेश्वर–कलंकी सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण सुरु पहिले नै सबै अवरोध हटाउन लागिएको बताए । उनले भने “विभिन्न निकायसँगको समन्वयमा सडकको क्षेत्र खाली गराउन लागिएको हो ।” कोटेश्वर–कलंकी सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो ।

भूकम्प पहिले नै कोटेश्वर–कलंकी सडक विस्तारको काम सुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला समस्या निम्त्याएका कुरा पहिले सल्टाएर मात्रै काम सुरु गर्न चिनियाँ टोलीले चाहेको सडक विभागले जानकारी दिएको छ ।

विस्तार हुन लागेको सडकमा दुई ‘अण्डर पास’, प्रत्येक एक–एक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । पहिलो चरणको विस्तारका क्रममा सडकमा रहेका कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले बताएको छ । ८ लेनको सडकमा कोटेश्वर–कलंकी सडकमा जस्तै मुख्य ४ लेन र सहायक ४ लेन गरेर जम्मा ८ लेन नै रहने प्रमुख थापाले बताए ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिन्हले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । उनले भने, “पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।” बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ ।                                                       ८ लेनको सडकमा ४ लेन अण्डरपासमा र ४ लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलंकी चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए । बालाजुमा निर्माण हुने ‘ओभरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक–एक किलोमिटरमा एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए । पहिलो खण्डमा १० किमी सडकमा ३ मात्रै आकाशे पुल हुँदा पर्याप्त नभएको गुनासो आएकाले हाल प्रत्येक किमीमा एउटा आकाशेपुल निर्माण हुँदैछ । रासस

prabhu mahalaxmi
kumari bank
kumari