नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो
आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं । काठमाडौँ उपत्यकाको बढी पैदलयात्रुहरुले सडक पारगर्ने चोकहरुमध्येको एक नयाँबानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ । सो पुलको डिजाइनमै समय बढी लागेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । पुल निर्माणको अवधि गत पुसमा सकिएको छ । अहिले नियमित रुपमा निर्माण भइरहेकाले केही समयपछि सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेको काम पनि अहिले नियमित रुपमा अघि बढेको छ ।”
डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशेपुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युतको पोल लगायतका संरचना हटाउन नसकिएका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो । अहिले ती सबै संरचना हटाइ सकिएकाले नियमित रुपमा काम भइरहेको हो ।
यस स्थानमा महानगरपालिकाको आकाशेपुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो । सघीय सरकारले निर्माण गरेका सडकमा सकेसम्म आफैँले आकाशेपुल निर्माण गर्ने प्रमुख नेपालीले बताउनुभयो । सडक विभागले काठमाडौँ चक्रपथ सुधार योजना अन्तर्गत कोटेश्वर–कलङ्की सडक खण्डमा पनि छ स्थानमा आकाशेपुल निर्माण गरिरहेको छ ।
कार्यालयले भने नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । कोटेश्वर चोकमा पनि आकाशेपुल निर्माणको प्रक्रियाअघि बढेपनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले माइतीघर, टेकु लगायतका स्थानमा आकाशेपुल निर्माण गर्ने भनेको छ । माइतीघरमा पुल निर्माणको अवधि गत मङ्सिरमा सकिएपनि सम्पन्न भएको छैन । रासस