नेपाल–भारत सम्बन्ध विदेश सचिवको भ्रमणले हार्दिकता तर्फ फर्कने अपेक्षा
काठमाडौँ । सुगौली सन्धि अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकता तर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।
सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई छ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले गत वर्ष नेपालको भूभागलाई समेटेर एकतर्फी रुपमा नयाँ नक्शा जारी गर्नाका साथै नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माणपछि उद्घाटन नै गरेपछि नेपालले पनि आफ्नो राजनीतिक एवं प्रशासनिक नक्शा अद्यावधिक गरेको वास्तविकताप्रति दुवै देशका जनता अनभिज्ञ छैनन् ।
आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालले भारतसँगका सबै समस्या वार्ता, संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने मान्यतालाई अङ्गीकार गर्र्दै तदनुरुप नै हुनुपर्ने अभिमत सार्वजनिकरुपमा प्रकट गर्दै आएको छ । कोभिड–१९ तथा अन्य कारणले करीब एक वर्ष टुटेको नेपाल र भारतबीचको औपचारिक कूटनीतिक संवादलाई पाका कूटनीतिक व्यक्तित्व हर्षबर्धन शृङ्गलाको दुईदिने नेपाल भ्रमणले गतिशील तुल्याउने तथा शताब्दीऔँ पुरानो द्विपक्षीय सम्बन्धलाई पुरानै लयमा फर्काउने विश्वास गरिएको छ ।
शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिँदै आएका छन् ।
भारतीय पक्षले पनि पारस्परिक सहयोगलाई अझ सुदृढ तुल्याउँदै भारत–नेपाल सम्बन्ध अझ उन्नत होस् भन्ने चाहना सार्वजनिक रुपमा नै व्यक्त गरेको छ ।
बिहीबार परराष्ट्र सचिव भरतराज पौड्यालसँग एक्लाएक्लै अनि दुवै देशका सचिवबीच हुने प्रतिनिधिमण्डल स्तरीय वार्तामा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनेछ ।
राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन लगायत विषयमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग हुने शिष्टाचार भेटमा विदेश सचिव शृङ्गलाले नेपालको चाहना र यहाँका सरकार प्रमुखको सन्देश भारत सरकार समक्ष प्रवाह गर्नु हुनेछ भने भारतको सुरक्षा चासोका बारेमा पनि उनले भारतको धारणा प्रकट गर्नेछन् ।
दुई देशका परराष्ट्र मन्त्रीको सहअध्यक्षतामा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्र मन्त्री ज्ञवालीलाई आमन्त्रण गर्नु पनि सचिव शृङ्गलाको भ्रमणको अर्को उद्देश्य हो ।
भारतमा विदेश मन्त्रालयमा कार्यभार सम्हाल्ने बित्तिकै सचिवले छिमेकी मुलुकको परिचयात्मक भ्रमण गर्ने र ती देशको वास्तविक वस्तुस्थिति बुझ्ने प्रचलनकै निरन्तरताका रुपमा पनि यो भ्रमणलाई लिन सकिन्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ, सबैको विकास’ नीति र प्रधानमन्त्री ओलीले अघि सार्नु भएको ‘समृद्ध नेपाल, सुुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न भारत लगायत बाह्य विश्वको नैतिक एवं भौतिक सहयोग नेपालका निम्ति अपरिहार्य छ ।
कोरोनाको महामारीका कारण शिथिल भएको अर्थतन्त्र उकास्न र सहज ढङ्गले स्वास्थ्य सेवा प्रवाहका निम्ति आवश्यक उपकरण एवं सामग्री जुटाउन पनि भारतका विदेश सचिवको भ्रमण सहयोगी हुने मान्न सकिन्छ ।
गोरखा भूकम्पका बेला तत्काल राहत तथा उद्धारमा भारतले निर्वाह गरेको भूमिका, पुनःनिर्माणका परियोजनामा देखाएको तदारुकता, आवास परियोजनाको शीघ्र निर्माण र कार्यान्वयन, पेट्रोलियम पाइपलाइन निर्माण, नेपालको आर्थिक भूपरिदृश्यमा विशाल रुपान्तरण गर्ने ९०० सय मेगावाट क्षमताको ‘गेमचेञ्जर’अरुण तेस्रो जल विद्युत् आयोजनामा भइरहेको प्रगति तथा जनकपुर–जयनगर रेलसेवा सञ्चालनको तयारी, नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण लगायत भारतको सहयोगमा सञ्चालित परियोजनाले पनि दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने जमर्को गरेको सहजै अनुमान सकिन्छ ।
भारत–नेपाल सम्बन्धमा एउटा नयाँ अध्याय आरम्भ गर्ने अभिभाराका साथ हुन लागेको शृङ्गलाको भ्रमणले भारत(नेपाल सम्बन्धको मर्म बुझेर दुई राष्ट्रबीच फेरि प्रगाढ आत्मीयताको ज्योति छर्ने आशा दुवै देशमा जनताले गरेको इपिजीका भारततर्फका सदस्य प्रा महेन्द्र पी लामाको सार्वजनिक अभिव्यक्ति सत्य सावित हुने अपेक्षा गरिएको छ । रासस

























