सञ्चार मन्त्री गुरूङलाई पत्रकारकाे ज्ञापनपत्र
काठमाडौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण आम सञ्चारकर्मी लगायत सम्पूर्ण सञ्चार क्षेत्र प्रभािवत बन्न पुगेको छ ।
भाइरसको उच्च जोखिमका बाबजूद पनि सञ्चारकर्मीहरु सूचना प्रवाहमा तल्लित छन् । यस क्रममा हालसम्म ४२१ जना सञ्चारकर्मीहरु संक्रमित भएका छन् भने ४ जना पत्रकारले ज्यान गुमाउनु परेको छ ।
यस्तो कठिन अवस्थामा कतिपय सञ्चार गृहहरुले लामो समय काम गरिसकेका श्रमजीवि सञ्चारकर्मीहरुलाई पारिश्रमिक नदिने र निष्कासन समेत गर्ने गरेका छन् ।
कोभिडका कारण उत्पन्न यी र यस्ता समस्याहरु समाधान होस् भन्ने उदेश्यले नेपाल पत्रकार महासंघका केन्द्रीय समिति अन्तर्गतको साना लगानी मिडिया हक हित प्रवद्धन तथा संरक्षण समितिका संयोजक गोविन्द प्रसाद चौलागाईंको अगुवाईमा आज नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर १३ बुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नु भएको छ ।
ध्यानाकर्षणका विषयहरु
१) कोभिडको कारण समयमा सूचना तथा प्रशारण विभागबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्रकाशित गरे वापत् बिल ढिला हुन गएका देशभरका सबै किसिमका(दैनिक, अर्ध–साप्ताहिक साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक) पत्रिकाहरुको विल बुझ्ने र भुक्तानी दिने व्यवस्था यथाशिघ्र गराइ दिनु हुन अनुराेध गरिएकाे छ।
२) कोभिड संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरियोस् । कोभिडको सचेतना जगाउन सञ्चारकर्मीहरुलाई नै फोकस गरी निःशुल्क सेवा पाउने गरी चिकित्सक परामर्श सेवा उपलब्ध गराउन हटलाइनको व्यवस्था गराइदिन।
३) कोभिड–१९ को त्रासपूर्ण अवस्थामा अग्रभागमा रहेर जोखिम मोल्दै दुर्गम क्षेत्रमा सूचना सम्प्रेषण क्षेत्रमा दिनरात खटिने पत्रकारहरु काठमाडौ धाउनु पर्ने समस्याहरुलाई मध्यनजर राख्दै सूचना तथा प्रविधि मन्त्रालय मातहतको जिल्ला हुलाक कार्यालयलाई सक्रिय बनाई देशभरका पत्रकार परिचयपत्र प्रदान र नविकरण गर्नका साथै अनलाइन दर्ता र नविकरण दर्तासम्मको व्यवस्था गराई संघीयताको मर्म अनुरुप विकेन्द्रित अधिकार दिई पत्रकारहरुलाई राहतको महसुस गराइदिन ।
४) नेपाल पत्रकार महासंघले माग गरेबमोजिम समानुपातिक विज्ञापन प्रणाली हालसम्म लागू हुन सकेको छैन । समानुपातिक विज्ञापन लागु नहुन्जेलका लागि स्थानीय र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढँगले वितरण गर्ने वातावरणको लागि मन्त्रालय तहबाट परिपत्र गराउने काममा सहयोग पुरयाइयोस् । साथै लोककल्याणकारी विज्ञापन् वापत्को रकम दोब्बर बृद्धि गर्न पहल गरिदिन ।
५) विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरुलाई पारिश्रमिक नदिई यस्तो त्रासको बेला निष्कासन गर्ने र बेरोजगार बनाउने हर्कतलाई रोक्दै साँच्चै कोभिडका कारण मर्कामा परेका मिडियाहरुलाई अनुदानको व्यवस्था गर्दै मर्का परेका सञ्चारकर्मीहरुलाई तत्काल पुर्नबहाली र पारिश्रमिक उपलब्ध गराउने वातावरण बनाउन यथाशिघ्र पहल गरिदिन ।
६) पत्रकारलाई अभिमुखीकरण तालिम र क्षमता अभिबृद्धि गराउने कार्यक्रमलाई विशेष सहयोग गरिदिन ।
७)सूचना विभागले अलनाइन मार्फत फारम लिने व्यवस्था विगतदेखि नै गर्दै आएको छ । उक्त सफ्टवेयरलाई स्तरउन्नति गरि अनलाइन मार्फत नै सेवा दिने प्रबन्ध अझै प्रभावकारी रुपमा गरिदिन ।
८) सञ्चारकर्मीहरुले खरिद गर्ने सञ्चार सामाग्रीहरुमा अनुदान उपब्ध गराईदिनका साथै सञ्चार गृहरुका लागि सवारी साधन खरिद प्रक्रियामा कर तथा भन्सार छुटका लागि पहलकदमी लिइदिन ।
९) अनलाइन सञ्चारमाध्यमको मापदण्ड बनाई लोककल्याणकारी विज्ञापन तत्काल उपलब्ध गराउने व्यवस्था गरिदिन ।
१०) प्रदेशस्तरमा समेत सञ्चारग्राम बनाउने कार्यक्रम यथाशिघ्र पहल गरिदिन ।
११) जिल्ला जिल्लाका साना लगानीका सञ्चार माध्यममा टेण्डर, सूचना प्रकाशित गर्न पाउने गरी सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता हटाउन पहल गरिदिन ।
१२) उमेरले ६० वर्ष माथिका र २५ वर्ष भन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेका जेष्ठ सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहतको घोषणा गरिदिनुहुन ।
१३) नेपाल पत्रकार महासंघले विगतमा राख्दै आएका मागहरुलाई यथाशिघ्र सम्बोधन गरिदिनुहुन । आम पत्रकारहरुको हक हितमा सदैव क्रियाशिल चौलागाईंले मन्त्री गुरुङलाई आम सञ्चारकर्मी र सञ्चार क्षेत्रको समस्याहरु जानकारी गराउनुभएपछि सञ्चारमन्त्री गुरुङले यी मागहरुलाई तत्काल पूरा गराउने प्रतिवद्धता जनाउनु भएकाे छ ।

























