कार्तिक २७ गते प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्माको सुनुवाई हुने
काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ । प्रस्तावित राजदूतहरु विरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाई तोकिएको हो ।
अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाई हुन बाँकी छ ।
प्रस्तावित राजदूतहरु विरुद्ध समितिमा चार वटा उजुरी परेका छन । तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको हो ।
यस अघि कार्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो । संसदीय सुनुवाई समिति सभापति लक्षमणलाल कर्णले उजुरीकर्ताहरु नआएपछि २७ गतेका लागि अर्को सुनुवाईको मिति तोकेका हुन् ।
गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।























