नेकपामा ओलीको नयाँ रणनीति
काठमाडौ । नेकपामा पटक–पटक देखिएको खिचलोको स्थायी समाधान भएको भनिए पनि पुन खिचलो शुरू भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी केन्द्रका लेखराज भट्ट, राम बहादुर थापा, हरिबोल गजुरेल,टोप बहादुर रायमाझी, प्रभु साह जस्ता राजनैतिक ब्यक्तित्वहरूलाई समेट्दै पूर्व एमालेलाई एक ढिक्का बनाउने अभियान शुरू गरेका छन् ।
यसका निमित्त आगामी दशौं एकता महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको अध्यक्षमा प्रधानमन्त्री केपि शर्मा ओलीले समर्थन गर्ने र वरिष्ठ नेता माधवकुमार नेपालले ओली सरकारलाई पूर्ण कार्यकाल निर्वाध रूपले सरकार संचालनमा सहयोग गर्ने समझदारी निर्माण गर्ने रणनीति बनाई छलफल शुरू गरेका छन ।
तत्काल ओलीले माधव पक्षका सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन आश्वासन दिएको तर माधवले नमानेको स्रोतले बताएको छ। नेकपा महासचिव बिष्णु पौडेल अर्थ मन्त्री बनेकाले ओली सो पद माधव पक्षलाई दिएर पुर्व एमालेलाई एक गराउन खोज्दैछन ।
यो संभावना यस कारण पनि प्रवल छ कि नत केपी ओली, माधव नेपाल र बामदेव गौतम जबज छोड्न तयार छन् नत प्रचण्ड जबजलाई समाउन तयार छन। खिचडी कार्यनीति लिएर अहिले नेकपा सञ्चालन भैरहेकोमा दुबै पक्ष असन्तुष्ट छन् ।
आगामी एकता महाधिवेशनमा अहिले पार्टीले बोकेको दक्ष प्रजापतिको टाउको जस्तो “जनताको जनवाद “ लाई न त पूर्व एमाले न त पूर्व माओवादी कसैले पनि बोक्न तयार छैनन । जब बिचारमा समानता छ भने कार्यशैलीगत असहमतिलाई सच्याउन कुनै पहाड फोड्नु पर्दैन ।
एक आपासमा गरिने आत्मालोचना नै त्यो समस्याको समाधान गर्न प्रर्याप्त हुन्छ । नेकपाका दोश्रो पुस्ताका नेताहरू ढिला नगरि यस कार्यमा जुट्न पार्टी नेतृत्वलाई दवाव दिन थालेका छन । नेकपाको ईमान्दार प्रयत्नले मात्र अब नेपालको मजबुत कम्यूनिष्ट आन्दोलनलाई बचाउन सक्छ ।
अन्यथा मुलुककै भविष्य अन्धकारमय हुने अवस्था सिर्जना हुन खोज्दैछ । नेकपा अध्यक्ष प्रचण्डले पनि महाधिवेशनमा आफूले लिएर जाने बिचार स्पष्टसँग कार्यकर्ता बीचमा राख्नु पर्दछ ।
कम्यूनिष्ट पार्टी भनेको बिचारका आधारमा एकीकृत रहने हो । अहिलेसम्म नेकपामा अध्यक्ष प्रचण्डको भूमिका बिचार विहीन र षडयन्त्रमूलक मात्र देखिएको छ । यसरी अगाडि जादा मात्र थाहा हुनेछ को कति पानीमा छ भन्ने कुरा ।
नत्र अहिलेको चरित्रले आफ्नो घरमा आफैले आगो लगाएर एकक्षण न्यानो ताप्ने काम बाहेक अरू केही नहुने ओली पक्षको बुझाइ रहेको देखिन्छ ।



























