अर्थ सचिवमा ढुंगाना

काठमाडौं । सरकारले रिक्त रहेको अर्थ सचिव पदमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरेको छ । गत माघ २२ मा अर्थ मन्त्रालयका सचिव राजन खनालको अवकाशपछि मन्त्रिपरिषद् बैठकले ढुंगानालाई नियुक्त गरेको हो । सरकारले राजस्व सचिवमा भने पदस्थापना गरेको छैन । यद्यपि अर्थ मन्त्रालयकै राजश्व महाशाखा प्रमुख रामशरण पुडासैनीलाई कार्यबहाक राजश्व सचिव बनाउने चर्चा छ । पुडासैनी लामो समयदेखि अर्थ मन्त्रालयमा कार्यरत छन् । तत्कालीन एमालेसँग निकट उनी अर्थ मन्त्रालयमा निकै प्रभावशाली मानिन्छन् ।
ढुंगानालाई कात्तिकको पहिलो साता प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट राजश्व सचिवका रुपमा अर्थ मन्त्रालय आएका हुन् । प्रधानमन्त्री कार्यालयमा रहेर ‘वार रुम’ र डुइङ विजनेस इन्डेक्स सुधारमा महत्वपूर्ण काम गरेका ढुंगानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै अर्थ सचिव बनाउने वचन दिएर राजश्व सचिवका रुपमा पठाएको चर्चा थियो । जसलाई सरकारले चरितार्थ पनि गरेको छ । ढुंगाना भन्दा वरिष्ठ सचिवहरु राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल पनि अर्थ सचिवको प्रतिस्पर्धामा थिए । तत्कालीन राजश्व सचिव लालशंकर घिमिरे सेवा निवृत्त भएपछि ढुंगाना राजश्व सचिव बनेका थिए । सेवा निवृत्त हुनु अघि छोटो समय प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा राजश्व सचिवका रुपमा आएका घिमिरेलाई अवकाश लगत्तै प्रधानमन्त्री ओलीले आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । राजश्व प्रशासनमा लामो समय काम गरेका ढुंगानाको अर्थ सचिवमा नियुक्तिले अर्थ मन्त्रालयले मन्त्रालय बुझेको सचिव पाएको चर्चा अर्थ मन्त्रालयमा छ ।