सीताराम हाछेथु ललितपुर महानगरको प्रहरी प्रमुखमा नियुक्त
ललितपुर । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्व प्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रमुखको जिम्मेवारी दिएको छ।
ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारी सहित महानगरले आइतबार नियुक्त गरेको हो।
नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।
प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उनको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझैं दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
प्रमुख महर्जनले भने– ‘उहाँ हाछेथुको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित छन् । त्यसैले ल्याएका हौं।’
हाछेथु २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका हुन् । २९ वर्ष यसै क्षेत्रका बिताएका हाछेथुले नयाँ जिम्मेवारीले थप केही गर्ने ऊर्जा मिलेको बताए। हाछेथु ट्राफिक व्यवस्थापन गर्नमा सक्षम र सफल मानिन्छन् ।























