थपियो भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा
काठमाडौं । गत भदौ ३ गतेदेखि जारी भएको काठमाडौं उपत्यकामा १० गतेदेखि १७ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा एक हप्ता थपगरि लम्ब्याइएको छ । आज बुधबार काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले बताए ।
यस अघि गत ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेकोले यसलाई रोकथाम तथा नियन्त्रण गर्न उक्त निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
बैंक तथा वित्तिय संस्था लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने व्यवस्था गरिएको छ । निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्य वस्तु र अत्यावश्यकीय वस्तु खरिदको काम बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनु पर्नेछ । अहिले जारी भएको निषेधाज्ञ भन्दा थप कडा बनाउने समेत निर्णय भएको उनले बताए । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ दहालले भने ।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ–जाउ गर्न सक्ने व्यवस्था यथावत रहेको पनि दहालले जानकारी दिए ।

























