citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

विश्व प्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को क्याम्पस अब नेपालमै स्थापना हुने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । विश्व प्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को क्याम्पस अब नेपालमै स्थापना हुने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सम्झौताले यसको ढोका खुलेको हो । सम्झौता अनुसार नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोलिने छ ।

सहमति अनुसार नेपालमा आइआइटीको अफसोर क्याम्पस स्थापना हुने छ । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमै रहनुभएको समयमा सोमबार प्रेस ब्रिफिङका क्रममा दुवै देशका प्रधानमन्त्रीले उल्लेख गर्नुभएको थियो ।

नेपाल सरकारले आफ्नो बजेट र नीति तथा कार्यक्रममार्फत विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई नेपालमै क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको थियो । प्रधानमन्त्री शाहको भारत भ्रमणमा भएको यो सहमतिसँगै सरकारको उक्त नीतिगत प्रतिबद्धता अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

यस सहकार्यलाई नेपालमा एउटा विदेशी शैक्षिक संस्था थपिने विषयका रूपमा मात्र नहेरी समग्र इन्जिनियरिङ शिक्षा, अनुसन्धान र नवप्रवर्तनको वातावरण बलियो बनाउने आधारका रूपमा लिनुपर्ने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभयो ।

“स्वदेशमै उत्कृष्ट इन्जिनियर, अनुसन्धानकर्ता, नवप्रवर्तक र प्रविधि उद्यमी उत्पादन गर्न सक्ने बलियो शैक्षिक इकोसिस्टम निर्माण गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो, “मन्त्री पोखरेलले भन्नुभयो, “नेपालको उच्च शिक्षा र दक्ष प्राविधिक जनशक्ति विकासको यात्रामा यो एक महत्वपूर्ण सुरुवात हो । यसरी नै विश्वका अन्य प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग पनि सहकार्य हुने छ ।”

छात्रवृत्ति विस्तारमा सहमति

प्रधानमन्त्री शाहको भारत भ्रमणका अवसरमा जारी संयुक्त दृष्टिकोणपत्रमा शिक्षा तथा सिप विकासका अन्य महत्वपूर्ण विषयहरू पनि समेटिएका छन् । संयुक्त दृष्टिकोणपत्र अनुसार हाल सञ्चालनमा रहेका छात्रवृत्ति योजनाहरूलाई विस्तार गर्दै अब नेपाली विद्यार्थीहरूका लागि कानुन, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक तथा नयाँ विषयमा थप छात्रवृत्ति र तालिमका अवसर प्रदान गरिने छ ।

यसै गरी दुई देशका शैक्षिक तथा तालिम संस्थाहरूबिचको सहकार्यलाई अझ सुदृढ बनाउँदै प्राध्यापक (फ्याकल्टी) र विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिने बताइएको छ । नेपाली युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न भारतको सहयोगमा एक व्यावसायिक तालिम केन्द्र पनि स्थापना गरिने भएको छ । उक्त केन्द्रमार्फत नेपाली युवालाई उत्पादन, सेवा र उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सिप तथा तालिम प्रदान गरिने छ ।

त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरी नालन्दा विश्वविद्यालयसँग सहकार्य गरिने, नेपालमा आइसिएआर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्दै दुई देशका कृषि विश्वविद्यालयहरूबिच सम्बन्ध विस्तार गरिने तथा प्रमुख मेडिकल संस्थानहरूबिच विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ ।

IME Life
ofukuro
kumari