citizens life insurance long ad
stcnepal long ad

प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। सरकारले भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड ब्रान्डका सम्पूर्ण बिस्कुटको पैठारी, सीमानाका प्रवेश र नेपालभित्र बिक्रीवितरणमा पूर्ण रोक लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त ब्रान्डको बिस्कुट मानिसको उपभोगका लागि नभएकाले नेपालमा बिक्रीवितरणमा रोक लाइएको हो । सो ब्रान्डको बिस्कुट भारतमा यसअघि नै मानव खपतका लागि रोक लगाइएको थियो ।

विभागका अनुसार नेपालमा पनि आयात हुने गरेको प्रियागोल्ड बिस्कुट खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत भएको पाइएकाले बिक्रीवितरणमा रोक लगाइएको हो ।

बिस्कुट बनाउन गाईवस्तुको दाना प्रयोग

भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एसएसएआई) ले गरेको परीक्षणमा प्रियागोल्ड बिस्कुट उत्पादनमा गाईवस्तुको दानाका रूपमा प्रयोग गरिने चोकरलाई रेसा/फाइबरको स्रोतका रूपमा प्रयोग गरेको पाइएको थियो ।

उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ उल्लेख गरिएको थियो । यसका साथै कारखानामा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थ भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा गम्भीर लापर्बाही पाइएपछि एसएसएआईले उत्पादक कम्पनीको इजाजतपत्र निलम्बन गरी अभियोजन प्रक्रिया अघि बढाएको छ ।

बजारबाट तत्काल फिर्ता गर्न आदेश

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रोडक्ट रिकल प्राविधिक समितिको भर्चुअल बैठकको सिफारिसका आधारमा यो निर्णय गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार नेपालका आधिकारिक पैठारीकर्ता तथा खाद्य व्यवसायीलाई कानुनबमोजिम प्रियागोल्डका सबै ब्याच र जुनसुकै उत्पादन मितिका बिस्कुट बजारबाट तत्काल फिर्ता गरी सञ्चय तथा अभिलेखीकरण गर्न निर्देशन दिएको छ ।

उक्त उत्पादन नष्ट गर्नुपर्ने अवस्था आएमा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा उपयुक्त तरिकाले नष्ट गरी विभागलाई जानकारी गराउनुपर्ने छ ।

अर्को आदेश नभएसम्मका लागि सीमानाकाबाट प्रवेश अनुमति तथा पैठारी स्वीकृति स्थगित गरिएको छ । विभागको आदेशविपरीत बिक्रीवितरण गरेमा वा जनस्वास्थ्यमा सम्झौता गरेमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ ।

IME Life
kumari