अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध
काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको छ ।
नेपाल टेलिकमका विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ । अल नेट भ्वाइस प्याक अन्तर्गत रु. ३५, ४९, ९८, १८९ र २९९ मा १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याक उपलब्ध हुनेछन् । यी प्याकहरुको समयावधि क्रमशः १, ३, ७, ३० र ३० दिन हुनेछ ।
सजिलो अनलिमिटेड अन्तर्गत रु. ६९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ । त्यसैगरी रु. १,४९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ ।
पोस्टपेड प्रयोगकर्ताहरुले रु. ३७३ रेन्टल चार्जमै उपलब्ध हुने विभिन्न प्रकारका भ्वाइस र डाटा प्याकका साथै अन्य विभिन्न प्रकारका कम्बो प्याक प्रयोग गर्न सक्ने छन् ।
भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन् । त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् । फरक क्षमता भएका व्यक्तिहरुका लागि समेत छुट्टै प्याकेज उपलब्ध छ ।
अटम अफर २०८३ हिजो (२०८३ असोज २६) देखि लागु भएको छ । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नु हुनेछ ।
त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।




















