सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न
१३ प्रतिशत लाभांश पारित
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १९ गते काठमाडौँमा साधारण सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई १३ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिएका छन् ।
साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति, निजको पारिश्रमिक निर्धारण तथा नियमावली अनुसार गरिएको सञ्चालकको नियुक्ति समेत अनुमोदन गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिस्ट्रार तथा डिम्याट खाता लगायतका पुँजी बजारसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ ।
कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको यस कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन् ।
काठमाडौँ उपत्यकाबाहिरका लगानीकर्ताहरूलाई पुँजी बजारमा सहज पहुँच पुर्याउन कम्पनीले सिटिजन्स बैंकका देशैभरका शाखा कार्यालयहरूमार्फत आफ्ना सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।
यसबाट देशका विभिन्न भूभागमा रहेका लगानीकर्ताहरूलाई व्यवस्थित लगानी सेवाका साथै दीर्घकालीन र अनुशासित लगानी संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।





















