यो नाकावन्दी नभए के हो त ?
मुखमा रामराम बगलीमा छुरा भने झैं चीनले नेपाल प्रति निकै सहानुभूति देखाएको छ । आपतकालीन अवस्थामा तर जहाँ कस्नु पर्ने त्यहाँ कसेको छ । यतिखेर नेपाल आउने रसुवा नाका र कोरला नाका बाढी पहिरोका कारण प्राकृतिक रुपमा सञ्चालनमा आउन सकेको छैनन् ।
एक प्रकारले मानिसको क्षमता भन्दा बाहिर छ । तर तातोपानी नाकामा त्यस्तो प्राकृतिक अवरोध छ्रैन । त्यहाँ नाका सञ्चालन गर्न अफ्ठेरो छैन । तर त्यो नाका चीनले बन्द गराएको छ । कारण के हो खुलाएको छ्रन, तर नाका बन्द छ ।
आयात–निर्यात रोकेको कारण व्यापारमा अवरोध आएको छ । दशैंको लागि चीनबाट उपभोग्य वस्तुहरु नेपालमा प्रसस्त मात्रामा ल्याइन्थ्यो, यस पल्ट नेपालीले दशैंका लागि झिकाएका सामान सीमापारी अलपत्र रहेको छ, नेपालले ठुलो घाटा वेहोर्नु परेको छ ।

दुई नाका प्राकृतिक रुपमा बन्द भएकोमा प्रकृति बाहेक कसैलाई दोष दिन मिल्दैन तर सञ्चालनमा ल्याउन सकिने तातोपानी नाका बन्द गरिंदा एक त व्यापारको लागि ठुलो व्यवधान भएको छ भने अर्कोतिर चाडवाड नै खल्लो हुने अवस्था आएको स्पष्ट छ ।
सहयोग गर्ने भनेको अप्ठेरो दिन आउँदा गर्ने हो, विना कारण तातोपानी नाका बन्द गरिंदा एक प्रकारले चीन तर्फ नाकावन्दीको अवस्था आएको छ ।
तत्काल तातोपानी नाका खोलेर नेपाल प्रति सदाशयता देखाउने मौका यही हो र यसमा चीनको सोचाईमा परिवर्तन आवश्यक छ ।
त्यसो त भारतले आफुलाई पर्याप्त नहुँदा पनि चिनी चामल जस्ता उपभोग्य वस्तु निर्यात गर्नमा रोकतोक गरेको छैन भने तातोपानी नाका खुला गर्दा नेपालमा चीनबाट आउने कपडा, जुत्ता, फलफुल, सवारी साधन र विद्युतीय वस्तु आयात गर्न सरल हुन्थ्यो ।
यस्तो संकटको घडीमा ३ वटै नाका बन्द हुँदा कोरला र रसुवा प्राकृतिक कारण भनेर चित्त बुझाउन सकिन्छ तर तातोपानी नाका न खोल्नुलाई नाकावन्दी न भनेर के भन्ने ?





















