विपतमा पनि साल्ट ट्रेडिङको सहज आपूर्ति
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले देशमा विपत् वा अप्ठ्यारोको अवस्थामा पनि खाद्यान्न आपूर्ति शृङ्खलालाई नियमित राख्दै आएको छ । प्राकृतिक वा मनसुनजन्य विपत्, सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका र दुर्गम क्षेत्रमा हुन सक्ने कृत्रिम अभावलाई रोक्न कर्पोरेसनले विगतदेखि सहज र सर्वसुलभ आपूर्ति व्यवस्थापन गर्दै आइरहेको जनाएको छ ।
कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले कर्पोरेसनले प्राकृतिक वा मनसुनजन्य विपत्, सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका र दुर्गम क्षेत्रमा हुन सक्ने कृत्रिम अभावलाई रोक्न नुन, चिनीलगायतका वस्तुमा सधैँ ‘बफर स्टक’ सुरक्षित राख्ने गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार भूकम्प, कोभिड र अहिले बाढीपछिको अवस्थामा पनि अत्यावश्यक खाद्य सामग्रीको आपूर्ति नियमित हुँदै आएको छ । अहिलेको अवस्थामा पनि कर्पोरेसनले १० दिनभित्रै सल्टाउने गरी ग्यास आपूर्ति बढाउन थालेको कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्पोरेसनमा तत्काललाई आवश्यक चिनी पर्याप्त मौज्दात रहेकाले चिनी अभाव पनि हुने छैन । भन्सार छुटमा भारतबाट १० हजार टन चिनी ल्याउन प्रक्रिया अघि बढाइसकेकाले यसको आपूर्तिमा पनि समस्या नहुने उहाँको भनाइ थियो । झाका अनुसार कर्पोरेसनको आफ्नै पहलमा ल्याउन लागेको दुई हजार पाँच सय मेट्रिक टन चिनी वीरगन्ज भन्सारमा आइपुगेको छ ।
आन्तरिक उद्योगबाट खरिद गर्ने १२ हजार मेट्रिक टन आउने क्रममा रहेकाले बजारमा अब चिनीको अभाव नहुने झाले बताउनुभयो । त्यस्तै उहाँले आगामी सात महिनाका लागि नुन मौज्दात रहेकाले यसमा पनि कुनै समस्या नहुने स्पष्ट पार्नुभयो ।
सार्वजनिक–निजी साझेदारीमार्फत सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड २०२० भदौ २७ गते स्थापना भएको हो । सुरुमा मुलुकभर आयोडिनयुक्त नुनको सहज र व्यवस्थित आपूर्ति गर्ने उद्देश्यका साथ स्थापना भएको कर्पोरेसनले अहिले दैनिक उपभोग्य वस्तुदेखि कृषि सामग्री आपूर्तिसम्मको काम गरिरहेको छ ।























