आरोग्य प्रवर्धनका लागि काठमाडौँ महानगर र जीवन विज्ञानबीच ऐतिहासिक समझदारी
काठमाडौं । आरोग्य प्रवर्धन तथा स्वस्थ जीवनशैली विकासका लागि काठमाडौँ महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ ।
राष्ट्रिय सभागृहमा २०८३ भदौ २६ गते आयोजित कार्यक्रममा महानगरका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा समझदारी भएको हो ।
समझदारीले नागरिकलाई आरोग्य जीवनशैली, योग, ध्यान तथा सकारात्मक जीवनशैलीका अभ्यासमार्फत स्वस्थ र सन्तुलित जीवनतर्फ अघि बढाउने उद्देश्य राखेको छ ।
१७ बुँदे समझदारी पत्रमा महानगरको तर्फबाट कार्यबाहक नगरप्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानकी अध्यक्ष देवी शर्माले हस्ताक्षर गर्नु भएको छ ।
कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले मानिसको जीवन कस्तो बनाउने भन्ने कुरा व्यक्तिको आफ्नै हातमा रहेको भन्दै आरोग्य जीवनशैली अपनाउनु पर्ने बताउनुभयो ।
नेपालमा हजारौँ वर्षदेखि अभ्यास हुँदै आएको आरोग्य अवधारणालाई संयुक्त राष्ट्र संघले समेत स्वीकार गरी आरोग्य दिवस मनाउन थालेको उल्लेख गर्दै उहाँले सकारात्मक जीवनशैली र ध्यान आरोग्य जीवनका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
सकारात्मक जीवनशैलीले मनलाई व्यवस्थित बनाउने र ध्यानले शून्यतामा पु¥याउने उल्लेख गर्दै उहाँले अहिलेको जीवनशैलीमा आवश्यक ऊर्जाका लागि जीवन विज्ञानले ऊर्जाध्यानको अभ्यास सुरु गरेको बताउनुभयो ।
ऊर्जाध्यान मार्फत जीवनीशक्ति र ऊर्जा शक्तिको प्रयोग गर्ने अभ्यास गराइने तथा शरीर, मन र चेतनालाई जोडेर सुख, स्वास्थ्य र शान्तितर्फ अघि बढ्ने विभिन्न अभ्यास गराइने उहाँको भनाइ छ । कार्यक्रममा गुरुदेवले सहभागीलाई स्वजागरण ध्यानको अभ्यास समेत गराउनुभयो ।
श्रद्धेय भानु गुरुदेवले सनातन र नवीनतम् अभ्यासको समन्वय नै आरोग्य भएको बताउनुभयो । विश्वमा आरोग्यको अर्थतन्त्र दिनानुदिन विस्तार भइरहेको उल्लेख गर्दै उहाँले आरोग्य दिवस विश्वस्तरमा स्थापित भएको सन्दर्भमा नेपालले आरोग्यको नेतृत्व गर्दै अर्थतन्त्रलाई समेत सबल बनाउनु पर्ने धारणा राख्नुभयो ।
जीवन विज्ञान र काठमाडौँ महानगरपालिकाबीचको समझदारी नागरिकको आरोग्यका लागि लिइएको जिम्मेवारी भएको बताउँदै उहाँले अब महानगर र जीवन विज्ञानसँगै प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी लिनु पर्नेमा जोड दिनुभयो ।

नागरिकलाई आवश्यक स्रोत, साधन र विज्ञता उपलब्ध गराउने दायित्व महानगर र जीवन विज्ञानको भएको उल्लेख गर्दै उहाँले यस सहकार्यले काठमाडौँलाई सांस्कृतिक राजधानीसँगै आरोग्यको राजधानीका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बिरामी भएपछि उपचारमा खर्च गर्नुभन्दा रोगको रोकथाम तथा स्वास्थ्य प्रवर्धनमा महानगरले जोड दिएको बताउनुभयो । महानगरले स्वस्थ नागरिक, आरोग्य नगरको अवधारणामा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले यो कुनै व्यक्ति वा संस्था विशेषको कार्यक्रम नभई हरेक नागरिकसँग सम्बन्धित कार्यक्रम भएको बताउनुभयो । विज्ञानसम्मत अभ्यास र आरोग्यका प्रयोगलाई नागरिकसम्म पु¥याउने उद्देश्य रहेको उल्लेख गर्दै उहाँले कार्यक्रम सञ्चालन गरेर मात्र आरोग्य प्राप्त नहुने र त्यसका लागि सबैले आरोग्य जीवनशैली अपनाउनु पर्नेमा जोड दिनुभयो ।
समझदारीअनुसार महानगरपालिका र जीवन विज्ञानले नागरिकस्तरमा आरोग्य, सकारात्मक जीवनशैली, योग तथा ध्यानसम्बन्धी अभ्यास र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै स्वस्थ तथा आरोग्यमय समाज निर्माणका लागि सहकार्य गरिने छ ।























