अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रवर्द्धन गर्ने देश’को सूचीबाट हटायो
संयुक्त राज्य अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रवर्द्धन गर्ने देश’को सूचीबाट हटाएको छ।
बीबीसीका अनुसार अमेरिकी प्रशासनले यो निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीलाई सहज बनाउनु र देशलाई विश्वव्यापी अर्थतन्त्रमा पुन: एकीकरण गर्नु रहेको बताएको छ।
सिरियालाई हटाइएसँगै अब अमेरिकाको सूचीमा केवल तीन देश बाँकी छन्: इरान, उत्तर कोरिया र क्युबा। अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भने, ‘यो निर्णयले सिरियालाई आर्थिक समृद्धितर्फ अगाडि बढ्ने बाटो खोल्नेछ। यो प्रस्ताव पहिलोपटक गत वर्ष जुलाईमा गरिएको थियो।
अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले पनि निर्णयको स्वागत गर्दै भनेका छन्, ‘यो कदमले सिरियामा थप लगानी ल्याउन मद्दत गर्नेछ, जसले राजनीतिक र आर्थिक स्थिरतालाई सुदृढ पार्नेछ।’
हालै ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल-सारासँग पनि सम्पर्क बढाएको छ। अल-सारा पहिले एक लडाकु संगठनका नेता थिए र अमेरिकाले एक पटक उनीविरुद्ध इनामसमेत घोषणा गरेको थियो। उनले पहिले अल-कायदासँग सम्बद्ध संगठनको नेतृत्व गरेका थिए।
उल्लेखनीय छ- गत वर्ष अमेरिकाले अहमद अल-साराको नेतृत्वमा रहेको इस्लामिक संगठन तहरिर अल-सामलाई आफ्नो ‘आतंकवादी संगठनको सूची’बाट हटाएको थियो।























