stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ तान्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ तरलता खिच्न ६ महिनाका लागि निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ८५ अर्ब रुपैयाँ संकलन गर्न बोलकबोल आह्वान गरेको जनाएको छ ।

सूचना अनुसार बोलकबोल भदौ ५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ । निक्षेप संकलन उपकरणको निष्कासन पनि सोही दिन हुनेछ भने ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ ।

राष्ट्र बैंकले निक्षेपको साँवा तथा ब्याज आगामी माघ २९ गते भुक्तानी गर्ने जनाएको छ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

यो निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । एउटै संस्थाले फरक–फरक ब्याजदरमा बहुबोलकबोल गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदरबाट सुरु गर्दै आह्वान गरिएको रकम बराबरसम्म बोलपत्र बाँडफाँट गरिनेछ । समान ब्याजदरमा माग बढी भएमा ‘प्रो–राटा’ आधारमा रकम बाँडफाँट हुनेछ ।

राष्ट्र बैंकले आवश्यक परे सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिसँग रहने पनि जनाएको छ ।

यो निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । तर, यसमा लगानी गरिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने र राष्ट्र बैंकको निर्देशनअनुसार एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

IME Lifesidebar
kumari