stcnepal long ad
ime life insurance
national life
global ime bank long

निर्वाचन आयोगको प्रमुख आयुक्तमा कार्की सिफारिस

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले प्रमुख आयुक्तमा सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्की र आयुक्तमा डा. राजीव सुब्बा तथा गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि सिफारिस भएका पदाधिकारीको नियुक्ति हुने छ । सुब्बा नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी र वाग्लेले सरकारी वकिलको उपन्यायाधिवक्ताबाट अवकाश पाउनुभएको हो ।

संवैधानिक परिषद् सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुरले निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस भएको बताउनुभयो । संवैधानिक परिषद्को कानुन अध्यादेशबाट संशोधन गरी परिषद्ले यसअघि प्रधान न्यायाधीश सिफारिस गरेको थियो ।

उक्त अध्यादेश प्रतिस्थापन प्रक्रिया अघि बढेको छैन । अध्यादेश निष्क्रिय हुन एक साताको समय बाँकी रहँदा परिषद्ले आयोगमा पदाधिकारी सिफारिस गरेको हो ।

सिफारिस भएका पदाधिकारीको नाम अब संसदीय सुनुवाइ प्रक्रियाका लागि संसद्मा पठाइने छ । संसदीय सुनुवाइबाट अनुमोदन भएमा नियुक्तिको प्रक्रिया अघि बढ्ने छ । सुनुवाइ समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरे प्रस्तावित पदाधिकारी नियुक्तिका लागि योग्य हुने व्यवस्था छ ।

सिफारिसमा परेका कार्की सर्वोच्चको बहालवाला रजिस्ट्रार हुनुहुन्छ । सरकारी वकिल समूहबाट सेवा प्रवेश गरेका कार्की न्याय समूहको विशिष्ट कर्मचारी हुनुहुन्छ ।

रजिस्ट्रारमा बहाल रहेकै अवस्थामा कार्कीलाई प्रमुख आयुक्तमा सिफारिस गरिएको हो । सुब्बा सूचना प्रविधि तथा विशेष गरी साइबर सुरक्षाका क्षेत्रमाक्रियाशील हुनुहुन्छ । सरकारी वकिल समूहको उपन्यायाधिवक्ताबाट अवकाश पाएका वाग्ले यसअघि निर्वाचन आयोगमा समानुपातिक निर्वाचन कार्यक्रम सञ्चालनमा प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो ।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवकाश पाएपछि निर्वाचन आयोग प्रमुख आयुक्तविहीन छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा भएको थियो । कार्यवाहक प्रमुखको जिम्मेवारी रामप्रसाद भण्डारीले पाउनुभएको थियो ।

prabhu mahalaxmi
kumari