stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । इस्लामावादस्थित नेपालको राजदूतावासले शुक्रबार ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ नाराका साथ एक कार्यक्रमको आयोजना गरी ७३औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको सगरमाथा दिवस सम्बन्धी विशेष भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा पाकिस्तानका लागि नेपालका राजदूत रिता धितालले सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो सफल आरोहण भएको ऐतिहासिक दिनको स्मरण गर्दै सगरमाथा आरोहण असाधारण इच्छाशक्ति, सहनशीलता र सहकार्यको प्रतिफल भएको बताउनुभयो ।

राजदूत धितालले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो वातावरणीय क्षयीकरण तथा हिमनदी पग्लिने समस्याप्रति चिन्ता व्यक्त गर्दै यसको सामना गर्न प्रभावकारी अन्तरराष्ट्रिय सहकार्य आवश्यक भएको बताउनुभयो ।

उहाँले नेपालले सञ्चालन गरिरहेको ‘क्यास फर ट्र्यास’ सरसफाइ अभियान लगायत प्रयासको चर्चा गर्दै ‘नेपाल वेलनेस वर्ष–२०२७’ र ‘भिजिट नेपाल वर्ष–२०२८’ जस्ता महत्त्वपूर्ण पर्यटन अभियानमार्फत नेपाललाई दिगो तथा उच्च मूल्ययुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रमलाई प्रधानमन्त्रीका पर्यटन सल्लाहकार तथा राष्ट्रिय पर्यटन संयोजक सरदार यासिर इल्यास खान, पाकिस्तान पर्यटन विकास निगम (पिटिडिसी) का प्रबन्ध निर्देशक अफ्ताब उर रहमान राना तथा अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अरशदले पनि सम्बोधन गर्नुभएको थियो ।

उहाँहरूले नेपाल र पाकिस्तानबीच पर्वतारोहण क्षेत्रका अनुभव र अभ्यास आदानप्रदानका साथै सहकार्य विस्तारमा को महत्वमाथि जोड दिनुभएको थियो ।

त्यस अवसरमा राजदूत धितालले सगरमाथाको सफल आरोहण गरेका पाकिस्तानका चार जना आरोहीलाई सम्मान गर्नुभएको थियो । साथै,उनीहरूले आफ्ना आरोहण अनुभव सहभागीमाझ साझा गरेका थिए ।

दूतावासका काउन्सिलर पुरुषोत्तम ढुङ्गेलले नेपालको साहसिक पर्यटनका सम्भावनाबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा विश्वका अग्ला हिमाल, हिमशृङ्खलाको मनोरम दृश्य तथा साहसिक पर्यटन गतिविधिसम्बन्धी श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा पाकिस्तानका सगरमाथा आरोही, उच्च सरकारी अधिकारी, विभिन्न देशका राजदूत तथा उच्चायुक्त, कूटनीतिज्ञ र पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

IME Lifesidebar
kumari