stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

रूपन्देही । पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी जेठ २५ गते हुने संघको निर्वाचनलाई लक्षित गर्दै उनले शनिबार भैरहवामा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

लुम्बिनी खुकुरी क्लव, बेलहियाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौचनले क्रिकेट खेल र खेलाडीले भोगिरहेका समस्याको समाधान तथा जिल्लाको क्रिकेट विकासका लागि आफू नेतृत्वमा आउन चाहेको बताए । यसअघि पनि अध्यक्ष पदका उम्मेदवार बनेका गौचनले यसपटक क्रिकेट समुदायको साथ र विश्वास प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

उनले करिब २५ वर्षदेखि नेपाली क्रिकेटमा योगदान दिँदै आएको उल्लेख गर्दै १८ वर्ष खेलाडीका रूपमा र त्यसपछि पनि क्रिकेट विकासमा निरन्तर सक्रिय रहेको बताए ।

‘समग्र क्रिकेट खेलको विकासका लागि रुपन्देही क्रिकेट संघको नेतृत्व आवश्यक महसुस गरेको छु’, उनले भने, ‘रुपन्देही एक समय राष्ट्रिय टोलीलाई खेलाडी उत्पादन गर्ने प्रमुख जिल्ला थियो। अहिले त्यो अवस्था केही कमजोर बनेको छ। त्यसलाई पुनः स्थापित गर्न सुधारका कार्यक्रम आवश्यक छन्।’

गौचनले क्रिकेट प्रतियोगिता सञ्चालन र खेलाडी उत्पादनका लागि पर्याप्त भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको बताए। नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाइसकेको उल्लेख गर्दै उनले जिल्लाको क्रिकेटलाई पनि नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

‘निस्वार्थ भावले क्रिकेटको विकासका लागि काम गरिरहेका छौँ र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनेछौँ’, उनले भने, ‘अवसर पाए काम गरेर देखाउनेछु ।’

कार्यक्रममा रुपन्देही क्रिकेट संघको उपाध्यक्ष पदका उम्मेदवार सञ्जिवकुमार जोशीले क्रिकेट र पर्यटन क्षेत्रलाई सँगसँगै अघि बढाउन सके जिल्लाको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने धारणा राखे ।

पत्रकार सम्मेलनमा लुम्बिनी खुकुरी क्लवका अध्यक्ष महेश थापा, पूर्वअध्यक्ष रामबहादुर बस्नेतलगायतले क्रिकेट विकासका लागि अनुभवी नेतृत्व आवश्यक रहेको बताएका थिए ।

prabhu mahalaxmi
kumari