सिटिजन लाइफ इन्स्योरेन्स ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–नेपाल’ विधामा अन्तर्राष्ट्रियस्तरमा पुरस्कृत
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवाड्र्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ बाट सम्मानित भएको छ।
इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी)द्वारा थाइल्यान्डको बैंककमा आयोजित समारोहका बीच यो पुरस्कार घोषणा गरिएको हो।
आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको छ। यो गरिमामय पुरस्कारले सिटिजन लाइफको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आमनागरिकमाझ जीवन बीमाको पहुँच पुर्याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रियस्तरमा पुनः प्रमाणित गरेको छ।
यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले पोषकराज पौडेलले भने, ‘आज यो ट्रफी र प्रमाणपत्र कम्पनीमा प्राप्त हुँदा हामी अत्यन्तै गौरवान्वित भएका छौँ। यो अन्तर्राष्ट्रिय सम्मान हाम्रा आदरणीय ग्राहकले हामीप्रति देखाउनुभएको अटुट विश्वास, हाम्रा प्रगतिका संवाहक अभिकर्ता साथीहरु र कर्मचारी वर्गको कडा परिश्रमको प्रतिफल हो। हामी यो पुरस्कार हाम्रा सम्पूर्ण सिटिजन परिवार र शुभचिन्तकहरुमा समर्पित गर्दछौँ।’
विगतका दिनहरुमा झैँ आगामी दिनमा पनि आफ्ना सेवाहरुलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख–दुःखको सारथी बन्न सिटिजन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको छ।

























