इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरूवाको तयारी
काठमाडौं । सरूवा भएको एक वर्ष अवधि पुगिसकेका नेपाल प्रहरीका प्रभाग,इलाका प्रहरी कार्यालय,प्रहरी वृत्त,ट्राफिक प्रहरी वृत्त,जिल्ला ट्राफिक प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय,जिल्ला प्रहरी परिसर,काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका इन्चार्जहरूलाई सरुवा गर्न लागिएको छ ।
जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुख पनि सरूवा हुने भएका छन्। काठमाडौंका एसएसपी रमेश थापा र ललितपुर परिसरका एसएसपी होबेन्द्र बोगटीको पनि सरुवा तयारी भइरहेको स्रोत बताएको छ । दुवैको ८ महिना अवधि पुरा भइसकेको छ।
काठमाडौं परिसरका प्रमुखहरु यसअघि ६ महिनामै हट्ने गरेका थिए। रमेश थापाले त्यो भन्दा लामो समय नेतृत्व गरिसकेका छन्। गत वर्ष बैशाख १५ गते ६८ जना एसपीहरूको सरूवा भएको थियो। ती मध्ये केही एसपी जिल्ला प्रहरी प्रमुख छन। काठमाडौं र ललितपुर परिसरको प्रमुखका लागि आधा दर्जन एसएसपीहरू दौडधुपमा छन्।
प्रहरी परिसर काठमाडौं प्रमुखका लागि एसएसपी दयानिधि ज्ञवाली, अजय केसी, प्रविण धिताल, सुवास बोहरा र सुरेश काफ्लेको नाम चर्चामा छ ।
ज्ञवाली हाल प्रहरी प्रधान कार्यालयको सुरक्षा विश्लेषण महाशाखा, केसी प्रहरीको साइबर ब्युरो भोटाहिटी, धिताल उपत्यका प्रहरी कार्यालय रानीपोखरी, बोहरा प्रहरी प्रधान कार्यालयको कार्यविभाग, सुरेश काफ्ले प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोमा कार्यतर छन् ।
उनीहरूले एसपीबाट एसएसपीमा बढुवा भएपछि हालसम्म कुनै पनि कार्यालयको कमान्ड पाएका छैनन ।
त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीको एक वर्ष हुन लागिसकेको छ। विभिन्न तालिम केन्द्रका एसएसपीको पनि सरूवा गर्ने तयारी भइरहेको छ। कार्यक्षमतामा कमजोर रहेका तराईका केही एसपीहरुको पनि सरूवा हुने सम्भावना छ। सुनसरीका केशव थेवे तथा सप्तरीका गौतम केसी लगायतको विषयमा उजुरी परेका छन्।
त्यस्तै,पहाडी र हिमाली जिल्लाका डिएसपी पनि सरूवाको तयारीमा छन । तराईका जिल्लामा ट्राफिक इन्चार्ज भएर जानका लागि इन्सपेक्टरहरू धाइरहेका छन्। हाल गृह मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्दै आएका छन्।
प्रधानमन्त्रीले प्रहरीको सरुवामा कुनै चासो दिएका छैनन्। उनको सचिवालसँग समन्वय गरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवाको तयारी गरेका छन्। प्रहरीका इन्चार्जहरूको सरूवामा राजनीतिक दबाब नभएकाले आईजीपी कार्कीले क्षमता,दक्षता,कार्यसम्पादन र अनुभवका आधारमा ूराइट मेन राइट प्यालेसूसरूवा गर्न पाउने भएका छन।
अहिले राजनीतिक र गृह प्रशासनबाट सरूवा ठुलो दबाब नभएकाले आईजीपी कार्कीले संगठनको आवश्यकता अनुसार योग्यता,क्षमता,दक्षता,विज्ञता र अनुभवका आधारमा प्रहरीका कर्मचारीहरूको सरूवा गर्न सक्छन।
गृह मन्त्रालयले आईजीपीलाई एसपीसम्म सरूवा गर्ने अधिकार दिएको छ। एसएसपीको गृह सचिवस्तरबाट निर्णय भएर सरूवा हुन्छ भने डिआईजीसम्म मन्त्रीस्तरिय निर्णयबाट सरूवा हुँदै आएको छ।एआईजीहरूको विभागिय सरुवा भने मन्त्रीपरिषदले गर्दछ।

























